सर्प दंश उपचार केन्द्र सञ्चालनमा आउन सकेन

बारा । बाराको जीतपुरमा निर्मित सर्प दंश उपचार केन्द्र एन्टी स्नेक भेनोम सिरम भ्याक्सिनको अभावमा सञ्चालनमा आउन सकेको छैन ।
श्री नं.२८ बाहिनीभित्र बनाइएको सर्प दंश उपचार केन्द्र सञ्चालनका लागि २०७७ साल असोज ८ गते नेपाली सेनाको श्री नं.२८ बाहिनी अड्डा र जीतपुुरसिमरा उपमहानगरपालिकाबिच सम्झौता भएको थियो ।

सम्झौतामा भौतिक पुुर्बधार र आवश्यक सामग्री उपमहानगरपालिकाले उपलब्ध गराउने र प्राविधिक सेवाहरू नेपाली सेनाले प्रदान गर्ने उल्लेख छ ।

नेपाली सेनाकी क्याप्टेन डा.सृष्टिना प्रधानले स्वास्थ्य मन्त्रालयले सर्प दंश उपचार केन्द्रलाई मापदण्ड बनाएर स्वीकृति नदिएकाले सञ्चालनमा आउन नसकेको जानकारी दिनुभयो ।
सर्प दंशको उपचारको लागि मन्त्रालयले सर्पको टोकाइमा लगाइने भ्याक्सिन एन्टी स्नेक भेनोम उपचार केन्द्रलाई पठाउने गर्दछ । भ्याक्सिनको अभावमा आवश्यक पुुर्बधार निर्माण भएर पनि सञ्चालनमा आउन सकेको छैन ।

जीतपुुरसिमरा उपमहानगरपालिकाको कार्यालयले २२ लाख ५१ हजार २ सय ५४ रुपैयाँको लागतमा सर्प दंश उपचार केन्द्रको तीन कोठे भवन निर्माण गरेको छ । करिब पाँच लाखको लागतमा खरिद गरिएको औषधी पनि प्रयोगमा नआएर खराब हुने सम्भावना बढेको छ । खराब हुन लागेको औषधिहरू उपमहानगरपालिकामा पठाउने योजना नेपाली सेनाले बनाएको डा.सृष्टिना प्रधानले बताउनुभयो ।










प्रतिक्रिया राख्नुहोस्