तपाईँ सुन्दै हुनुहुन्छः

बाँडी चुँडी खाने स्वार्थका कारण आजको यो अवस्था आयो : मन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टी एकता कायम राख्न आफूहरूले धेरै प्रयास गरे पनि सफल हुन नसकेको बताउनु भएको छ ।

अखिल नेपाल महिला सङ्घको केन्द्रिय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री ज्ञवालीले पार्टी एकता गरेको १२ घण्टा नबित्दै प्रचण्डले षडयन्त्र सुरु गर्ने गरेको बताउनुभयो । खुमलटार र बालुवाटार धाउँदा धाउँदा मेरै जुत्ताको तलुवा कति फाटे फाटे मन्त्री ज्ञवालीले भन्नुभयो, तर हाम्रो प्रयास सफल हुन सकेन ।

महाधिवेशनमा जान नसक्ने तर प्रधानमन्त्रीको कुर्सी चाहिने प्रचण्डको लोभका कारण पार्टी एकता भङ्ग भएको उहाँको भनाई छ । उहाँले बाँडी चुँडी खाने स्वार्थका कारण आजको यो अवस्था आएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली आफु स्वयम खुमलटार पुगेर फागुनमै विशेष महाधिवेशन गरौँ, म छोड्छु भन्दा पनि प्रचण्ड तयार नभएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा समेत प्रचण्डले सांसदहरूलाई झुक्याएको बताउनुभयो । बाटो र बिजुलीको पोल चाहियो भनेर सांसदहरूलाई बोलाएर प्रधानमन्त्री फाल्ने प्रस्तावमा हस्ताक्षर गर्न लगाइयो उहाँले भन्नुभयो, उहाँहरूको षडयन्त्र त्यतिमै मात्र सीमित थिएन राष्ट्रपतिविरुद्ध पनि महाअभियोगमा जाने योजनामा हुनुहुन्थ्यो ।

सरकारले अहिलेसम्म हुनै नसकेको काम खुरुखुरु गर्न लागेका कारण प्रचण्ड र माधव कुमार नेपाल तिलमिलाएको र सरकारको लोकप्रियता बढ्दै गएका कारण आफ्नो प्रधानमन्त्री बन्ने सपना पुरा नहुने देखेपछि षडयन्त्र गर्नतिर लागेको मन्त्री ज्ञवालीको भनाई छ ।

छिमेकी मुलुकसँग बिग्रिएको सम्बन्ध सुधार्‍यौ, जहाँ नेपालीलाई अप्ठेरो पार्ने काम भएको छ त्यहाँ हामी प्रष्टसँग कुरा राखेर समाधान गर्ने प्रयासमा लाग्यौँ, नेपाललाई सुन तस्कर गर्ने मुख्य ठाउँ बनाइएकोमा त्यो अहिले बन्द भएको छ, जग्गा दलालहरूलाई पनि ठेगान लगाइयो , उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button