तपाईँ सुन्दै हुनुहुन्छः

रानाथारु भाषाको व्याकरण निर्माणसहित अभिलेखीकरण हुने

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली जिल्लामा विगत लामो समयदेखि आदिवासीको रुपमा बसोबास गर्दै आएका रानाथारु समुदायले बोल्ने मातृभाषाको व्याकरण निर्माणसहित अभिलेखीकरण हुने भएको छ । नेपाल रानाथारु समाजको सहयोग र समन्वयमा भाषा आयोगले रानाथारु भाषाको अभिलेखीकरण सम्बन्धी अध्ययन गरिरहेको छ ।

शनिबार कञ्चनपुरको देखतभूलीमा नेपाल रानाथारु समाजको आयोजना र भाषा आयोगको संयोजनमा रानाथारु भाषाको अभिलेखीकरण सम्बन्धी गोष्ठीमा व्याकरण निर्माणसहितका महत्त्वपूर्ण विषयहरूमा सरोकारवालाहरुसंग छलफल गरिएको छ ।

छलफलमा रानाथारु समुदायका अगुवाहरूले रानाथारु समुदायको लोकसंस्कृति संरक्षणका लागि सरकारले उचित पहल चलाएको प्रतिक्रिया दिए ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले वर्तमान सरकारले रानाथारु समुदायलाई अलग्गै सुचीकृत गर्नु र रानाथारु भाषालाई समेत थप गर्नुले रानाथारु समुदायको पहिचान स्थापित भएको बताउनु भयो ।

कञ्चनपुर र कैलालीमा रहेका रानाथारु समुदायको पहिचानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको महत्त्वपूर्ण भूमिकाबाट रानाथारु समुदायको भाषा सुचीकृतका साथै आदिवासी जनजातिमा अलग्गै सुचीकृत हुन सकेको उल्लेख गर्नुभयो । उहाँले रानाथारु भाषाको अभिलेखीकरण गर्ने कार्य व्याकरण बिना पूर्ण नहुने हुँदा यसको तयारीमा नेपाल रानाथारु समाज र भाषा आयोगको टोली केन्द्रित रहेको जानकारी दिनुभयो ।

रानाथारु भाषाको अभिलेखीकरण सम्बन्धी गोष्ठीमा प्रमुख अतिथि समेत रहनु भएका कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले कञ्चनपुर र कैलालीमा आदिमकालदेखि बसोबास गर्दै आएका रानाथारु समुदायका विभिन्न कार्यक्रममा कृष्णपुर नगरपालिकाले बेलाबेलामा सहयोग गर्दै आएको र आगामी दिनहरुमासमेत सहकार्य गरिने बताउनुभयो ।

उहाँले रानाथारु भाषाको पाठ्यक्रमका लागि नगरपालिकाले योजना बनाइरहेको उल्लेख गर्नुभयो । कृष्णपुर नगरपालिकाकी उपप्रमुख रमिता राना बडायकले आफूहरू जनप्रतिनिधि नहुँदै आफूहरूले रानाथारु समुदायको भाषाको अध्ययन गरेको बताउँदै आफ्नोतर्फबाट रानाथारु समुदायको भाषालाई अभिलेखीकरण गर्नका लागि पहल गर्ने आश्वासन दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय भाषा विज्ञानका सहायक डिन तथा भाषाशास्त्री डा। दुबीनन्द ढकालले रानाथारु भाषाको पहिलो पटक अध्ययन भइरहेकोले छिट्टै व्याकरण सहित अभिलेखीकरण गरिने बताउनुभयो । रानाथारु समुदायकोसमेत प्रत्यक्ष सहभागिता र अध्ययनबाट शब्दकोश, व्याकरण र पाठ्यक्रम तयार गरी रानाथारु भाषाको अभिलेखीकरण गरिने हुँदा केही समय लागे पनि रानाथारु समुदायका लागि ऐतिहासिक सफलता प्राप्त हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । भाषा आयोगका उपसचिव गेहनाथ गौतमले भाषा सम्बन्धी संवैधानिक व्यवस्था अनुरूप कञ्चनपुर र कैलालीमा रहेका रानाथारु समुदायको भाषा अध्ययन भइरहेको बताउँदै चालुआर्थिक वर्ष भित्रै भाषा बारे पहिलो चरणको व्याकरण निर्माण गरिने बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल रानाथारु समाजका उपाध्यक्ष कमल सिंह रानाले लिखित रुपमा रानाथारु समुदायको कहीँकतै भाषा सुचीकृत नभए पनि ऐतिहासिक गौरवका रुपमा रानाथारु समुदायको भाषा महत्त्वपूर्ण रहेको बताउनु भयो । नेपाल आदिवासी जनजाति महासङ्घ कञ्चनपुरकी निवर्तमान अध्यक्ष एवं महिला नेतृ प्रेमवती रानाले आदिमकालदेखि कञ्चनपुर र कैलालीमा बस्दै आएका रानाथारु समुदायको भाषा दस्तावेजीकरण नभएको भन्दै दुखेसो पोख्नुभयो । दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक बन्दु राम बडायकले रानाथारु समुदायको भाषा सुचीकृतका लागि अहिले सरकारी तबरबाट राम्रो प्रयास भएकोमा खुसी व्यक्त गर्दै रानाथारु भाषाको संरक्षणका लागि पाठ्यक्रम तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

कञ्चनपुरका रानाथारु नेता पल्टु रानाले रानाथारु समुदायको ऐतिहासिक पहिचान संरक्षणमा लागि सबै सरोकारवाला एक हुनुपर्ने धारणा राख्नुभयो । रानाथारु समुदायबाट निर्वाचित जनप्रतिनिधि एवं अन्य जनप्रतिनिधीहरुले रानाथारु समुदायको कला, संस्कृति, संस्कार संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । रानाथारु भाषाको व्याकरण निर्माणसहित अभिलेखीकरण हुने भएपछि कञ्चनपुर र कैलालीका रानाथारु समुदाय हर्षित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button