आरनले धानेको जीवन

जाजरकोट ।
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका ४, सार्कीबाराका ४७ वर्षीय तीलबहादुर कामी बिहानदेखि बेलुकासम्म आरनमा फलाम कुटिरहेका हुन्छन् । तीवबहादुरले यसरी फलाम पिटेर आरन चलाएको ३० वर्षभन्दा बढी भयो ।
उहाँले कलकलाउँदो उम्मेरदेखि नै आरनको काम गर्दै आउनु भएको हो । तीलबहादुरले यसैबाट १३ जनाको परिवारको दैनिकी चलाइरहनुभएको छ । बारेकोट ५, तोलखानाका ५० वर्षीय मुने कामीले आरन व्यवसाय गरेको दुई दशक बितेको छ । आठ जना परिवारको खर्च यसैगरी चल्दै आएको उहाँले बताउनुभयो । तीलबहादुर र मुने त केही प्रतिनिधि उदाहरण मात्र हुन् । जिल्लामा आरन सञ्चालन गरेर जीवन गुजारा धान्ने परिवारको सङ्ख्या ३ सयभन्दा धेरै छन् ।
आरन व्यवसाय दलित समुदायको मुख्य पेसा हो । उनीहरूको जग्गा जमिन तथा घरबासको अभाव हुने भएको हुँदा आरन व्यवसाय गरेर सानोतिनो गर्जो टार्ने गरेको तीलबहादुरले बताउनु भयो । आम्दानीको अन्य विकल्प नभएपछि आरनमा भाडा वर्तन बनाएर गाउँलेबाट खलो – मकै, गहुँ लगायतको अन्नबाली) उठाउँदै परिवारको गुजारा चलाउँदै आएका छन् ।

‘गाउँगाउमा सञ्चालन भएका आरनको प्रवर्द्धन हुन सकेको छैन । परम्परागत रुपमा सञ्चालनमा आएका आरनमा फलामका भाडा वर्तन बनाई दिए बापत खलो उठाएर जीवन गुजारा चलाउने गरेको’ मुलेले बताउनु भयो ।
फलामका भाडा वर्तन बनाई दिए बापत वर्षमा २० देखि २५ किलोको दरले प्रतिपरिवार मकै, गहुँ लगायत अन्न लिने गरेको उहाँले बताउनुभयो ।
पछिल्लो समय आरनको लागि आवश्यक पर्ने काठको कोइला पाउन छाडेपछि समस्या भएको आरन व्यवसायी बीसराम विकले बताउनु भयो । जङ्गल विनास हुँदै गएपछि पैंयु, मछाइनो, सल्लो लगायत रुख लोप हुँदै गएपछि कोइलाको समस्या भएको विकको भनाई छ ।

आरन व्यवसायमा युवा पुस्ताको रुचि नहुनुले पनि यो पेसा सङ्कट परेको दलित अगुवा पृर्थीबहादुर नेपालीले बताउनु भयो । आधुनिक आरन सञ्चालन गर्न सक्ने हो भने उनीहरूलाई केही राहत पुग्ने नेपालीको भनाइ छ । फाटफुट रुपमा ज्याला लिएर पनि भा“डावर्तन बनाउने काम गर्ने गरेका छन् । आरनमा किसानलाई खेतीपाती गर्न र घर व्यवहार चलाउन आवश्यक पर्ने हँसिया“, कुटो, कोदालो, फरुवा, बन्चरो लगायत फलामका उपकरण बन्ने गरेका छन् ।
गाउँ पिच्छे आरन सञ्चालनमा छन् । तर उक्त आरन पेसामा संलग्न व्यक्तिको जीवन स्तर माथि उठेको भने पाइँदैन । दैनिक गुजारा चलाउन मात्र उनीहरूले आरन सञ्चालन गरेको पाइन्छ । आरन व्यवसाय आम्दानी तथा आर्थिक वृद्धिको श्रोत बन्न नसक्दा युवा जनशक्तिलाई यो पेसाप्रति वितृष्णा जागेको छ । युवा जनशक्ति आरनमा व्यवसायमा नलाग्दा अधिकांश आरनमा वृद्ध मात्र भेटिने गरेका छन् । आर्थिक आम्दानी, सामाजिक व्यवहार लगायत हिसाबले पनि आरन पेसा अवहेलित बन्न पुगेको आरन व्यवसायीको गुनासो छ ।








प्रतिक्रिया राख्नुहोस्