पेट्रोलियम पाइपलाइन फुटाएर डिजेल चोरी गर्ने प्रयास

बीरगंज । पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी गर्ने प्रयास भएको छ ।
बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत डिजल आपूर्ति हुँदै आएको छ ।
नेपाल आयल निगमको अमलेखगंज डिपोका प्रमुख भरत रेग्मीले भारतको सिवान नजिकै तेली चोरी गर्ने प्रयास भए लगतै सुरक्षाकर्मीले थाहा पाएपछि भारतीय आयल कर्पोरेशनका कर्मचारीहरुले तत्काल घटनास्थलमा पुगेर तेल चोरी गर्न फुटाएको पाइपलाई मर्मत गरेको बताउनुभयो ।
बिहारको सिवान जिल्लाको डुमरा गाउँ नजिकै पाइपलाइन फुटाएर डिजल चोरीको प्रयास भएको थियो । बिहारमा पेट्रोलियम पाइपलाइन फुटाएर चोरीको प्रयास गरिएको यो पहिलो घटना भएको जनाइएको छ ।
पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजल बगेको देखेपछि गत बुधवार तत्काल भारतीय आयल कर्पोरेशनका अधिकारीहरुलाई खबर गरेका थिए ।
मेन पाइपमा प्वाल बनाएर सानो पाइपबाट डिजल चोरी गर्ने प्रयास गरिएको अवस्थामा सुरक्षाकर्मी पुगेपछि चोरहरु भागेको भारतीय आयल निगम मोतिहारीका डिपो प्रमुख आलोक भिन्जले आफूलाई बताएको नेपाल आयल निगम अमलेगखगंजका प्रमुख भरत रेग्मीले बताउनुभयो ।
करिब चार फीट तलको फाइपलाइनमा सानो पाइप जोडेर डिजल चोरीको प्रयास भएको थियो । घटना स्थलमा डिजल पोखिएको अवस्थामा भेटिएको छ । प्वाल पारिएको पाइपलाई मर्मत गरिएपछि विहिवारदेखि बाराको अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोमा प्रति घण्टा २ लाख ५० हजार लिटरको दरले डिजल आइरहेको प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
भारत तर्फको भू–भागमा चोरी भएमा नेपालले नोक्सानी व्यहोर्नु नपर्ने सम्झौता अनुरुप भारततर्फ भएको चोरी घटनाको प्रभाव नेपाललाई नपर्ने समेत रेग्मीले बताउनुभयो ।
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको गत वर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको रुपमा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्