२३ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा चेतनामूलक र्याली

वीरगंज । २३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा वीरगन्जमा जनचेतनामूलक र्याली निकालिएको छ । १९९० साल माघ २ गते आएको शक्तिशाली विनाशकारी भूकम्पले क्षति पुर्याएको दिनलाई भूकम्प दिवसको रुपमा मनाउने गरिएको छ ।
सघन सहरी भवन व्यवस्था कार्यालय वीरगंजको संयोजनमा “बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” नारा दिएर आज वीरगन्जको घण्टाघरबाट निकालिएको र्यालीले नगर परिक्रमा गरेको थियो ।
र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले भूकम्पको क्षति न्यूनीकरण तथा जोखिमबाट बच्नका लागि भवन निर्माण संहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले भूकम्प जानकारी दिएर नआउने भएकाले विभिन्न समयमा आएको भूकम्पले मानवीय र भौतिक क्षति व्यहोर्नु परेकोले क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सतर्कता आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
उहाँले पूर्वतयारीको अवस्था, भूकम्प जादै गरेको अवस्था र गइसकेपछिको अवस्था तीन तहको क्षति न्यूनीकरणको विषयमा सबैले जानकारी राख्नुपर्ने बताउनुभयो । सघन सहरी तथा भवन भवन निर्माण आयोजना कार्यालय पर्साका प्रमुख इन्जिनियर रञ्जन कुमार दासले जथाभाबी भवन निर्माण गर्दा बढी जोखिम हुने हुँदा अहिले सरकारले भवन निर्माण संहिता लागू गरेको हुँदा सोही अनुसार सबैले भवन निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, भन्सार प्रशासक महेश आचार्य, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका उप अनुसन्धान निर्देशक टिका पोखरेल, पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनाल, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कणेल लगायत सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्