तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक चिसोका कारण जनकपुरसहित आसपासका जिल्लाको जनजीवन प्रभावित

जनकपुरधाम । आज बिहानदेखि बाक्लो कुहिरोसँगै शितलहर चलेका कारण प्रदेश नंं २ को राजधानी जनकपुरधामसहित आसपासका जिल्लाहरूको जनजीवन प्रभावित बनेको छ ।

खास गरेर न्यूनतम तथा अधिकतम तापक्रमका बीचमा खासै भिन्नता नभएका कारणले अत्यधिक मात्रामा चिसो महसुस गरिइएको छ । जनकपुरधामको आज बिहानको तापक्रम १० डिग्रीमा झरेको छ । बाक्लो कुहिरोका कारणले सवारी साधन सडकमा गुडाउनमा पनि समस्या भइरहेको छ ।

अत्यधिक चिसोका कारणले ज्येष्ठ नागरिक, असक्त, अपाङ्ग, बाथ रोगी, हाडजोर्निका समस्या भएका तथा दमका रोगीहरूको दिनचर्या प्रभावित हुन थालेको छ । तीन चार दिनदेखि नै चिसो बढे पनि आज बिहानदेखि नै अत्यधिक चिसोको अनुभूति गरिइएको छ ।

खास गरेर अत्यधिक चिसोका कारणले बजारमा चहलपहलमा कमी आएको छ । यसै गरी कार्यालयमा काम गराउन आउने सेवाग्राहीको सङ्ख्यामा पनि कमी आएको छ ।
अत्यधिक चिसोका कारणले चौपायाहरू पनि प्रभावित भएका छन् । यसै गरी चिसोका कारणले रुघा खोकी, दम तथा निमोनियाको समस्या बढेको प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक डा.जामुन प्रसाद सिंहले जानकारी दिनुभयो ।

बाक्लो कुहिरोसँगै चलेको शितलहरका कारणले तेलहन, दलहन तथा तरकारी बालीमा समस्या हुने खाद्य तथा पोषण सुरक्षा आयोजना जनकपुरधामका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले जानकारी दिनुभयो ।

अत्यधिक चिसोबाट जोगिनका लागि न्यानो, बाक्लो तथा उनी कपडाको विक्रीमा पनि वृद्धि भएको छ । ठाउँ ठाउँमा आगो बालेर शरीरलाई न्यानो बनाउने काम भइरहेको छ । चिसोका कारणले गरिब तथा विपन्न वर्गका व्यक्तिहरू बढी मात्रामा प्रभावित बनेका छन् ।

यसै गरी खुल्ला आकाशमा काम गर्ने मजदुरहरू पनि चिसोका कारणले प्रभावित भएका छन् । सार्वजनिक यातायात सेवा प्रभावित भइरहेको छ । सार्वजनिक यातायातमा यात्रा गर्नेको सङ्ख्यामा कमी आएको छ ।

चिसोबाट जोगिनका लागि शरीर ढाक्ने गरी लुगा लगाउनु पर्ने, तातो खानेकुरा तथा तातो पानी झोलिलो पदार्थ सेवन गर्नका लागि चिकित्सकहरूले सर्वसाधारणमा आग्रह गरेका छन् ।

खास गरेर आवश्यक काम नभएको खण्डमा घर बाहिर ननिस्कनका लागि आग्रह गरिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button