न वैकल्पिक कक्षा न प्रत्यक्ष, बन्द छन् स्रोत कक्षा

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण कम हुँदै गएपछि अधिकांश स्थानमा प्रत्यक्ष कक्षा सञ्चालन हुन थालेका छन् । तर फरक क्षमताका बालबालिकालाई पढाउने स्रोत कक्षाहरू भने हालसम्म पनि सञ्चालन हुन सकेका छैनन् । ती कक्षाहरूमा पढ्ने बालबालिकालाई वैकल्पिक माध्यमको पढाइले पनि जोड्न सकेको छैन ।
बौद्धिक अपाङ्गता भएका विद्यार्थी पढाउने ललितपुरको आदर्श सौरयुवक माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्य बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अहिले कुनै माध्यमबाट पनि पढाउन नसकिएको बताउनुहुन्छ ।
प्रधानाध्यापक आचार्यका अनुसार विद्यालयमा कर्णाली प्रदेशका धेरै विद्यार्थी छन् । उनीहरू गएको चैतमा घर गएपछि अहिलेसम्म सम्पर्कसमेत हुन सकेको छैन ।
बौद्धिक अपाङ्गता भएका विद्यार्थीको उमेरअनुसार बौद्धिक विकास नहुने, स्मरण शक्ति नहुने र स्रोत साधनको पहुँच नपुग्ने भएकाले त्यसै पनि अनलाइन कक्षामा सिकाउन समस्या छ । सामान्य विद्यार्थीहरूलाई समेत वैकल्पिक तथा अनलाइन कक्षामा सहभागी गराउन नसकिरहेका बेला स्रोत कक्षामा पढ्ने बौद्धिक अपाङ्गता भएका विद्यार्थीको सिकाइमा पहुँच शून्य रहेको बताउनुहुन्छ बौद्धिक अपाङ्गता अभिभावक महासङ्घका अध्यक्ष राजु बस्नेत ।
उहाँ यसबीचमा छुटेको सिकाइलाई थप समय दिएर पढाउन विद्यालयहरूलाई सुझाव दिनुहुन्छ । बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू स्वभावैले सुस्त हुन्छन् । उनीहरूको सामान्य विद्यार्थीको जस्तो सिक्ने र बुझ्न सक्ने क्षमता हुँदैन ।
सरकारले उनीहरूलाई खुसी बनाउने, सहज बनाउने माध्यमका रूपमा स्रोत कक्षाको व्यवस्था गरेको छ । एक शिक्षकलाई १० विद्यार्थी र १० विद्यार्थीहरूलाई एक आया (हेरचाह गर्ने आमा) को व्यवस्था छ ।
बौद्धिक अपाङ्गताका विद्यार्थीहरूलाई सामान्य विद्यार्थीको जस्तो पाठ्यभार राखिँदैन । उनीहरूलाई व्यावहारिक ज्ञान दिन सरल भाषामा अध्ययन सामग्री तयार गरिएको हुन्छ । उनीहरूलाई खुसी पार्न नाचगान लगायतका गतिविधि गराइन्छ । लामो समयदेखि विद्यालय बन्द हुँदा त्यस्ता विद्यार्थीले सिकाइबाट वञ्चित हुनुपरेको छ ।
शिक्षा मन्त्रालयका सहसचिव डा. तुलसीप्रसाद थपलिया पनि सरकारले व्यवस्था गरेको वैकल्पिक माध्यमको पढाइले त्यस्ता विद्यार्थीलाई समेट्न नसकेको स्वीकार गर्नुहुन्छ ।
कोरोना भाइरसको महामारीका कारण स्रोत कक्षामा पढ्ने ६५ जिल्लाका विभिन्न विद्यालय हाताभित्र रहेका ३ सय ८० वटा स्रोत कक्षामा पढाउने शिक्षक तथा सहयोगीहरू फुर्सदिला बनेका छन् भने करिब ७० हजार बालबालिका सिकाइबाट वञ्चित हुँदै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्