तपाईँ सुन्दै हुनुहुन्छः

जनता नै देशको मालिक हुन् : सभापति देउवा

पर्वत । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले जनता नै देशको मालिक भएको बताउनुभएको छ ।
पर्वतको फलेवास नगरपालिका शंकरपोखरीमा सहिद हरिदत्त तिवारीको १८ औँ स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्नुहुँदै देउवाले अहिलेको परिपेक्षमा कुनै पनि राजनीतिक दल ठुलो नभएको बताउनुभयो ।
सभापति देउवाले देशका वर्तमान सरकारले गरेका कार्यको मूल्याङ्कन जनताले गरिरहेको बताउँदै नेपाली काँग्रेसका नेताहरूलाई घरघरमा पुगेर जनतासँग सुखदुख साट्न आग्रह गर्नुभयो ।
उहाँले अबको चुनावमा कुनै पनि आनाकानी नगरी नेपाली काँग्रेसको पक्षमा मतदान गरेर सुन्दर नेपालको निमार्ण गर्न सहयोग गर्न समेत अपिल गर्नुभएको थियो ।
सभापति देउवाले अर्को प्रसङ्गमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका बारेमा बोल्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अदालतमा विचाराधीन मुद्दामा यो गर र त्यो गर भन्दै हिँड्नु हुन्न । संविधानको व्याख्या गर्ने अधिकार अदालतको हो ।’
देउवाले अदालतलाई प्रभावमा पार्न खोजेमा त्यसको हिसाबकिताब जनताले गर्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, स्थानीय तह समन्वय प्रमुख अर्जुन प्रसाद जोशी, जिल्ला पार्टी सभापति खिमप्रसाद भुसाल लगायतका नेताहरूले आफ्नो भनाई राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button