४ महिनामा २२ करोड भन्दा बढी मूल्यको सामान निर्यात

रुपन्देही । रुपन्देहीको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)बाट चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म २२ करोड २३ लाख मूल्य बराबरका सामान उत्पादन भई बिक्रीका लागि उद्योगबाट निर्यात भएका छन् ।
कोरोना महामारीका कारण गत चैतदेखि ४ महिनासम्म पूर्ण बन्द रहेको सेजमा त्यसपछि बिस्तारै संचालनमा आएको थियो ।
अहिले सेजमा चालु अवस्थामा रहेका शक्ति मिनरल्स प्रालि, ब्रिलियन लाइटस र बिस्तार ग्लोबल प्रालिले आफ्नो उत्पादन बढाएका छन् । यी तीन उद्योगले मूल्य बराबरमा सामान उत्पादन गरी भारत तथा नेपालको आन्तरिक बजारमा पठाएको भैरहवा विशेष आर्थिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख तथा सिभिल इन्जिनियर अर्जुन पाण्डेले जानकारी दिनुभयो ।
चालु आबको पहिलो पहिलो पाँच महिनामा भारत निर्यातमा १५ करोड ७७ लाख र आन्तरिक बजारमा ६ करोड ४५ लाख मूल्य बराबरका सामान गइसकेको पाण्डेले बताउनुभयो ।
यहाँको शक्ति मिनरल्सले चुनढुंगा प्रशोधन गर्दै आएको छ भने ब्रिलियन लाइटसले विभिन्न किसिमका एलइडी लाइटस् र बिस्तार ग्लोबलले स्टिलका भाडा उत्पादन गर्दै आएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादन १३ सय ४४ प्रतिशतले वृद्धि भएको पाण्डेले जानकारी दिनुभयो ।
कार्यालयको ४ महिने तथ्यांकअनुसार कोरोना महामारीकै समयमा साउनदेखि कात्तिकसम्म शक्ति मिनरल्सले १६ हजार ७५ मेट्रिक टन प्रशोधित चुनढुंगा, ब्रिलियन लाइटसले १ लाख ७३ हजार ७ सय ७५ पिस एलइडी लाइट र बिस्तार ग्लोबलले ७ लाख ४४ हजार १ सय १ किलो बराबरका स्टिल सामानहरु उत्पादन गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्