तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहका सबै वडाहरूमा योगका लागि भौतिक पूर्वाधारको निर्माण गरिने : मन्त्री फुयाल

फाइल फोटो

काठमाडौँ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले प्रदेशका सबै स्थानीय तहका वडाहरूमा योगका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणको कार्य अघि बढाइएको बताउनुभएको छ ।

राष्ट्रिय योग दिवसका अवसरमा काठमाडौँको शंखरापुर नगरपालिकाले आज साँखुमा आयोजना गरेको कार्यक्रममा मन्त्री फुयालले योगलाई विश्व संस्कृतिको रुपमा अघि बढाउनु पर्ने बताउनुभयो ।

उहाँले विश्वमा सुख, शान्ति, खुशी र समृद्धि प्राप्त हुने विज्ञान वा दर्शन भनेकै योग भएकाले यसलाई जनस्तरसम्म पु¥याउन सरकारले पहल गरिरहेको उल्लेख गर्नुभयो ।

बागमतीलाई हरित प्रदेश बनाउने अभियान अन्तर्गत प्रत्येक घरमा कम्तीमा २ वटा रुख रोप्ने अभियानलाई संस्कृतिको रुपमा विकास गरिने मन्त्री फुयालले जानकारी दिनुभयो ।

शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले भौतिक विकाससँगै मानवीय विकासका लागि योग आवश्यक रहेको बताउनुभयो ।

उहाँले नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयका कम्तीमा १ जना शिक्षकलाई योग प्रशिक्षण दिलाउने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले स्थानीय पाठ्यक्रममा योगलाई समावेश गरेर विद्यालय तहमा पठन पाठन शुरु गरिएको जानकारी दिनुभयो ।

त्यस अवसरमा इलाका प्रशासन कार्यालयका प्रमुख मुरारी बस्ती, नगरपालिका शिक्षा शाखा प्रमुख वोधराज निरौलाले शंखरापुरमा कार्यक्रम गर्नका लागि आवश्यक मात्रामा ठुला हलहरू निर्माण भइसकेकाले सामूहिकरुपमा दैनिक योग अभ्यासलाई अघि बढाइने बताउनुभयो ।

आजको कार्यक्रममा पतञ्जलि योग समिति नेपालका रामप्रसाद सञ्जेल, जीवन विज्ञानका मेनुका ढकाललगायतले योग अभ्यास गराउनु भएको थियो ।

७ दिनसम्म सञ्चालन हुने विशेष योग शिविरमा योगका विभिन्न क्षेत्रका गुरुहरूले प्रशिक्षण दिनुहुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button