तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा थपिँदै स्वास्थ्य पूर्वाधार

    
बाँके । नेपालगन्जको भेरी अस्पतालमा कोभिड लक्षित स्वास्थ्य पूर्वाधार थपिँदै गएको छ । बाँके बाहेक अन्य जिल्लाका गम्भीर कोभिड बिरामी उपचारका लागि आउने भएपछि भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्य पूर्वाधार थपिँदै गएको हो ।
हालै भेरी अस्पतालमा गम्भीर स्वास्थ्य समस्या भएका कोभिड बिरामीलाई लक्षित गरी भेन्टिलेटर लगायतका स्वास्थ्य पूर्वाधार थपिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले प्राप्त भेन्टिलेटर पोर्टेबल रहेकाले आवश्यकता अनुसार बिरामीलाई प्रयोग गर्न सकिने जानकारी दिनु भएको छ । ‘भेन्टिलेटर जुनसुकै गम्भीर बिरामीलाई पनि आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले स्वास्थ्य मन्त्रालयबाट पोर्टेबल भेन्टिलेटर ५ थान, प्यासेन्ट मोनिटर २ थान, बिआइपिएपी मेसिन २ थान, पल्स अक्सिमिटर १० थान, एन ९५ माक्स १ हजार र पिपिई ५ सय थान प्राप्त भएको जानकारी दिनुभयो ।
भेरी अस्पताललाई कोभिडका लक्षण सहितका बिरामीको उपचारका लागि क्षमता वृद्धि गर्दै लगिएको हो । त्यसका लागि निरन्तर पहल हुँदै आएको थियो । पछिल्लो पटक स्वतन्त्र राजनीतिक समूहका संयोजक समेत रहेका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई स्वतन्त्र राजनीतिक समूहका पशुपति दयाल मिश्रले गत शुक्रवार भेटेर भेरी अस्पतालका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको थियो । उहाँले अस्पतालका मेसुलाई काठमाडौँ नै बोलाएर अस्पतालका लागि आवश्यक पूर्वाधारहरुबारे जानकारी गराउन अनुरोध गर्नुभएको थियो ।
भेरीका मेसु थापाले काठमाडौँ पुगेर नै स्वास्थ्य सामाग्री बुझ्नु भएको हो । स्वतन्त्र राजनीतिक समूहका सदस्य मिश्रले पीजी कक्षा चलाउनका लागि आवश्यक व्यवस्था गर्न स्वास्थ्य मन्त्रीसँग आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले थप भौतिक पूर्वाधारका लागि स्वास्थ्य मन्त्रीसँग पहल भएकाले छिट्टै थप उपकरणहरू उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
स्वतन्त्र राजनीतिक समूहका सदस्य पशुपति दयाल मिश्रले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई भेटेर बाँकेको खजुरा स्थित क्यान्सर अस्पतालका लागि पनि रेडियो थेरापी मेसिन माग गर्नुभएको छ । ‘क्यान्सर अस्पतालमा रेडियो थेरापी मेसिनको आवश्यकता रहेको जानकारी पाएपछि त्यसलाई प्राप्त गर्न सरकारसँग पहल गरेका हौँ’, नेता मिश्रले भन्नुभयो ।
गत शुक्रवार भएको भेटमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले खजुरा क्यान्सर अस्पतालका लागि आवश्यक रेडियो थेरापी मेसिन उपलब्ध गराउन तत्कालै पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘मन्त्रीज्यूले रेडियो थेरापी मेसिनका लागि पहल सुरु गरिसक्नु भएको छ’, मिश्रले भन्नुभयो, ‘जतिसक्दो छिटो मेसिन आउनेछ भन्नेमा हामी विश्वस्त रहेका छौँ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button