तपाईँ सुन्दै हुनुहुन्छः

आज माघे संक्रान्ति ! पर्वका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् : प्रधानमन्त्री

फाइल तस्बिर

काठमाडौँ ।    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालका प्रचलित पर्वहरूका विविधता हाम्रा बहुमूल्य सम्पत्ति भएको चर्चा गर्नुहुँदै विविधताबीच सुदृढ एकता र सहिष्णुताको यस पुँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले थारू समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे सङ्क्रान्तिका अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रको सुदृढ एकताको जगमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर रहेको चर्चा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था तथा राज्यको नीतिद्वारा नै हाम्रा सांस्कृतिक विविधताको रक्षा गरिरहेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “देशका हरेक जातिले मनाउने मौलिक पर्वहरू प्राचीन संस्कृतिसँग मात्र होइन, प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन् ।” उहाँले माघीलाई थारू जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइने चर्चा गर्नुभएको छ ।

उहाँले थारू जातिमा पुस मसान्तमा घरघरमा माछा, मासु र ढिकरी पिठोको एक परिकार खाई रातभर ‘मघौटा’ नाच नाच्ने चलनसमेत रहेको बताउनुभएको छ ।

आज माघे संक्रान्ति !

सौर्य मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे ( मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। थारु समुदायले आज धुमधामसँग माघी पर्व मनाउँदै छन्।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छ। हिन्दु धार्मिक मान्यताअनुसार उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ।

तराईवासीले माघ १ गतेलाई नहानअर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउनेले पनि आज अनिवार्य नुहाउनुपर्ने मान्यता छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ ।

महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ।

माघ महीनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवादअर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष अधिकमास (मलमास) कारण पौष शुक्ल पूर्णिमा केही दिनपछि परेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button