सप्तरीमा शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया

सप्तरी । राजविराजमा इन्सेकको आयोजनामा शिक्षक, अभिभावक र विद्यार्थीहरूसँगै बसेर शिक्षाको अधिकार र समस्याबारे अन्तरक्रिया भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना तथा नगर स्तरीय मानवअधिकार समूहको सहकार्यमा राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा शिक्षाको अधिकारबारे अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयका सह प्रधानाध्यापक मोहन मिश्रले विद्यार्थीको चाप बढ्दै गएको र अनुशासन कमजोर हुँदै गएकाले विद्यालयमा शैक्षिक वातावरण सहज बनाउन अभिभावक, शिक्षक, विद्यार्थीका साथै सरोकारवाला निकाय गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महिला शिक्षक निता यादवले स्वास्थ्य सुरक्षा अपनाउँदै बेन्चमा २ जना विद्यार्थी राखेर पढाउन सुरु गरिएकोमा विद्यार्थी सङ्ख्या बढ्दै गएपछि ५ जनासम्म राखेर पढाउनु पर्ने अवस्था आएको बताउनुभयो ।
शिक्षक डल्ली कुमारी सिंहले सतर्कतापूर्वक पढाउन थालिए पनि कतिपय अभिभावकले सरसफाइ नगरी र मास्क समेत नदिएर बालबालिकालाई विद्यालय पठाउने गरेको गुनासो गर्नुभयो ।
अभिभावक वसिष्ठनारायण झाले सरकारले महत्त्व र सुविधा दिएपछि सामुदायिक विद्यालयतर्फ आकर्षण बढ्दै गएको तर शिक्षा समन्वय इकाई र स्थानीय तहको ध्यान पुग्न नसकेको बताउनुभयो ।
विद्यार्थी पुनम भगतले पुरै घण्टी कक्षा हुन नसकेकोले परीक्षाको तयारीमा अवरोध भएको र प्रयोगात्मक कक्षा नहुने गरेको बताउनुभयो ।
विद्यार्थी सङ्गीता यादवले सरसफाइ कर्मचारी भए पनि शौचालय फोहोर रहने गरेको, सबै बिद्यार्थीहरुको गृहकार्य परीक्षण नहुने गरेको बताउनुभयो ।

शिक्षक सुमित्रा दासले अभिभावकलाई समय–समयमा विद्यालय आएर अनुगमन गर्न आग्रह गर्नुभयो भने महिला शिक्षक राशोदेबी साहले स्टाफ नर्स नियुक्त भए पनि ज्वरो नाप्ने थर्मामिटर, साबुनदेखि स्वास्थ्य सामाग्रीको व्यवस्था हुन नसकेको बताउनुभयो ।
अभिभावक जितेन्द्र झाले कोभिड–१९ को जोखिमप्रति विद्यालय सतर्क नदेखिएको र कतिपय शिक्षकहरुको पढाउने कार्यमा रुचि नदेखिएको भन्नु हुँदै शिक्षा समन्वय इकाईले छड्के अनुगमन गर्नुपर्ने बताउनुभयो ।
अभिभावकहरूले बिद्यार्थीहरुसँग मासिक, त्रैमासिक परीक्षा लिई मूल्याङ्कन प्रणाली अपनाउन सके विद्यार्थी र अभिभावक सचेत हुने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि इन्सेक प्रतिनिधि मनोहर कुमार पोखरेलले एक पक्षको अधिकारसँगै अर्को पक्षको कर्तव्य जोडिएकाले अधिकारसँगै जिम्मेवारी निर्वाहप्रति सबै जना गम्भीर बन्नु पर्ने बताउनुभयो । शिक्षक, अभिभावक र विद्यार्थीले पालना गर्नुपर्ने नियम बनाउन र समय–समयमा अन्तरक्रिया गर्न उहाँले सुझाव दिनुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका मानव अधिकार निगरानी समूहका संयोजक रघु बर साहले इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकारको विषयमा विभिन्न कामहरू गर्दै आएको जानकारी दिनुभयो । साहले सरोकारवालाहरूबीच समस्याहरू केलाउन र समाधानको उपाय खोज्न अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।
सहजकर्ता दिपककुमार यादवले कार्यक्रमको उद्देश्य बताएपछि सुरु भएको अन्तरक्रियामा पत्रकार दिनानाथ यादव, शिक्षक गिरीराज पौडेल, अभिभावक रामअवतार मण्डल, बिद्यार्थीहरु राधाकुमारी यादव, राकेश यादव, वीरेन्द्र यादवलगायतले समस्याबारे जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्