तपाईँ सुन्दै हुनुहुन्छः

मालपोतमा बैङ्कको किर्ते सहिछाप गरी लाखौँ रुपैयाँको भौचर दाखिला

बारा । मालपोत कार्यालय सिमरा, बारामा बैङ्कको किर्ते सहिछाप गरी एक लेखापढी व्यवसायीले भौचर दाखिला गरेको पाइएको छ ।

जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित मालपोत कार्यालय सिमरा कार्यालय छेउमै रहेको जय चुुरियामाई लेखापढी सञ्चालन गरी बस्ने लेखनदास अवधेश महत्तो कहार बैङ्कको किर्ते सही छाप गरी फरार भएका छन् ।्

लेखनदास कहारले पुँजीगत लाभ कर ५९ हजार ८ सय ५० रुपैयाँ र राजस्व ४६ हजार ३ सय ८३ गरी जम्मा एक लाख ६ हजार २ सय ३३ रुपैयाँ सिद्धार्थ बैङ्कको भौचरमा किर्ते सही, छाप गरी मालपोत कार्यालयमा बुझाएका थिए ।

मालपोत कार्यालयलाई भौचरको सही, छापमा शङ्का लागि अनुसन्धान गर्दै जाँदा सिद्धार्थ बैङ्कको किर्ते सही र छाप प्रयोग गरिएको भेटिएको मालपोत कार्यालय सिमराका प्रमुख मनोज कुमार खनालले बताउनुभयो ।

उहाँले आवश्यक कारबाहीको लागि विभागमा पत्र पठाउने जानकारी दिनुभयो ।

जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.८ स्थित रमौलिमा रहेको जग्गा बिक्री गर्न पुगेका अन्हिया कोइरिन र खरिद गर्न पुगेका बन्दी सिलवालसँग रकम लिई लेखनदास कहारले सो बापतको रकमको जाली भौचर मालपोत कार्यालयमा बुझाएका थिए ।

लेखनदास कहार यसभन्दा अगाडि पनि पुर्जा जालसाजी र बैङ्क दृष्टि बन्धक जालसाजी लगायतका कार्यमा दोषी साबित भएका व्यक्ति हुन् । प्रहरीले उनको फर्मबाट नगद एक लाख १८ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button