तपाईँ सुन्दै हुनुहुन्छः

माघीको तयारीमा जुटे थारु समुदाय

कञ्चनपुर। कञ्चनपुर लगाएत पश्चिम तराईका थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । थारु गाउहरुमा पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, घर लिपपोत तथा घरआँगन सरसफाईलगायतका कार्यहरू धमाधम भइरहेको छन ।

थारु समुदायको यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकोले आफ्ना परिवारका लागि नयाँ–नयाँ लुगाकपडा किन्ने गर्दछन । पुस अन्तिम दिनबाट शुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवाहरु बताउँछन् ।

यो पर्वमा विशेषगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गटोलगायतका स्थानीय खानाका पकवान खाने चलन छ । कञ्चनपुरका थारु वस्तीहरुमा माघी मनाउन हरेक वर्ष मेला तथा महोत्सवको आयोजना गर्ने गरेको भए पनि यस वर्ष भने कोरोनाको सङक्रमणका कारण खासै मेला महोत्सवको तयारी गरिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button