सरकार पर्यटन व्यवसायीको साथमा : मन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड –१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार पर्यटन व्यवसायीको साथमा रहेको बताउनुभएको छ ।
पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका प्रतिनिधीहरुसँग आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा पर्यटन मन्त्री ढकालले आन्तरिक पर्यटन प्रवर्धन गरी तात्कालिक रुपमा नेपालको पर्यटन क्षेत्रलाई जीवन्त बनाउने अभियानमा पर्यटन व्यवसायीले चालेका कदम सह्रानीय भएको बताउनुभयो ।

पर्यटन मन्त्री ढकालले कोभिडको बिषम् परिस्थितिमा स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउनु पर्नेमा सरकार सकारात्मक रहेको पनि बताउनुभयो ।
होटेल, रेष्टुरेष्ट व्यवसाय स्वास्थ्य मापदण्ड अपनाएर राती अबेरसम्म पनि सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीको मागमा पर्यटन मन्त्री ढकालले स्वास्थ्य मापदण्ड अपनाएर जाँदा सरकारलाई कुनै आपत्ति नरहेको स्पष्ट पार्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले पर्यटकहरूको बसाई लम्ब्याउने गरी पर्यटन व्यवसायीले आकर्षणका प्याकेज ल्याउन सके बढी फाइदाजनक हुने बताउनुभयो ।

कार्यक्रममा सहभागी पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका प्रतिनिधीहरुले कोभिड प्रभावपछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन तात्कालिक रुपमा आन्तरिक पर्यटन प्रवर्धन महत्त्वपूर्ण रहेको बताउनुभयो ।
आन्तरिक पर्यटनका कारण अहिले चितवन, पोखरा लगायतका पर्यटकीय स्थलका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको उल्लेख गर्दै पर्यटन व्यवसायीहरूले देश दर्शन कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
पर्यटन व्यवसायीहरूले यससँगै हप्तामा २ दिन बिदा दिने मन्त्रालयको प्रस्तावलाई कार्यान्वयनमा ल्याएर र कर्मचारीलाई वर्षमा ७ दिन आन्तरिक पर्यटन प्रवर्धनका लागि घुम्न जान बिदाको व्यवस्था गरी पर्यटन प्रवर्धनमा सरकारले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा पनि राख्नुभयो ।
विदेशी पर्यटकलाई आकर्षित गर्न पिसिआर नेगेटिभ भएका र खोप लगाएर आउनेलाई सहज रुपमा आगमन भिसा खुला गर्न पनि पर्यटन व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्