तपाईँ सुन्दै हुनुहुन्छः

बहुवर्षीय योजनाः जुम्ला–डोल्पा सडकलाई ३३ करोड विनियोजन 

जुम्ला । जुम्ला हुदै डोल्पा जोड्ने बहुवर्षीय सडकको स्तरउन्नति हुने भएको छ । जुम्लाको पुर्वमा पर्ने दानसाँघु पक्की पुल हुदै डोल्पा जोड्ने सडकको स्तरउन्नती हुने भएको हो । बहुवर्षीय ठेक्काका आधारमा सडक सुधारको कार्यलाई अघि बढाइने तयारी छ ।

जसका लागि कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयबाट ३३ करोड ४० लाख मात्रै बजेट स्वीकृत भएको छ । बहुवर्षीय योजनाका लागि ३३ करोड बजेट कनिका छर्नु जतिकै हो । ३३ करोडले जुम्ला हुदै डोल्पा जोड्ने ४४ किलोमिटर मध्य १० किलोमिटर सडकको मात्रै स्तरउन्नति हुने पूर्वाधार कार्यालय जुम्लाका प्रमुख रुप बहादुर रावलले बताउनुभयो ।

जुम्ला, दानसाँघु, चोत्रा काईगाउँ हुर्दै डोल्पा जोड्ने बहुवर्षीय सडकको १० किलोमिटर सडक मात्रै पाँच वर्षमा स्तरउन्नति हुने छ । एकै वर्षमा ५–६ करोड बजेटको खर्च गरेपनि पाँच वर्षसम्म ३३ करोड बजेट नपुग्ने रावलको भनाई छ ।

काम गर्नुपर्ने धेरै, बजेट थोरै हुने भएकै कारण बहुवर्षीय योजना प्रभावित हुने गरेको रावलले उल्लेख गरे । जुम्ला डोल्पा जोड्ने सडकको १० किलोमिटर सडक पाँच वर्षमा ग्राभेल भएपनि बाँकी सडक खण्ड कहिले निर्माण हुने कुनै टुंगो छैन ।

बहुवर्षीय योजनामा प्रयाप्त बजेट नभएकै कारण कर्णालीको पूर्वाधार विकासले गति लिन नसकेको पूर्वाधार कार्यालयका प्रमुख रुप बहादुर रावलले बताए । बजेट अभाव नै कर्णालीको पूर्वाधार विकासमा मुख्य चुनौती भएको उहाँको भनाई छ ।

जुम्ला डोल्पा सडक स्तरउन्नतिका लागि स्वीकृत भएको ३३ करोड ४० लाख बजेटले लक्ष्य अनुसार काम हुन नसक्ने चिन्ता व्यक्त गर्नुभयो । अघिल्लो पटक जुम्ला डोल्पा सडक सुधारका लागि ९९ करोडको स्टमेट पठाउँदा मन्त्रालयबाट स्वीकृत हुन् सकेन् ।

तर, यस वर्ष कानुन मन्त्री नरेश भण्डारीको पहल पूर्वाधार कार्यालयको ताकेता ३३ करोड स्वीकृत भएको छ । आउने बैशाख जेठबाट काम शुरु गर्ने पूर्वाधार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button