तपाईँ सुन्दै हुनुहुन्छः

वैशाखमा निर्वाचन हुने कुरामा ढुक्क हुनुहोस् : उपप्रधानमन्त्री पोखरेल

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादी व्यक्तिको तानाबानाका कारण पार्टी र देशमा अहिलेको अवस्था सृजना भएको बताउनुभएको छ ।

हेटौँडामा शनिबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदबाट हटाउने तानामाना बुनेर पार्टी अध्यक्ष ओलीलाई अध्यक्षबाट हटाउने र माधव नेपाललाई अध्यक्ष बनाउने गरी १९ बुँदे आरोप पत्र ल्याइएकोले संसद् विघटन गरिएको बताउनुभयो ।

उहाँले संसदीय दलको नेता समेत रहनुभएका ओलीलाई संसद्को विशेष अधिवेशनमा अविश्वासको प्रस्तावमार्फत हटाउने र राष्ट्रपति भण्डारीलाई महाअभियोगमार्फत हटाउने तानाबाना प्रचण्ड–नेपाल खेमाले बुनेपछि ताजा जनादेशको लागि संसद् विघटन गरेको बताउनुभयो ।

जनताबाट विश्वास र बहुमत प्राप्त प्रधानमन्त्रीले ताजा जनादेशको लागि जनतामा जाने निर्णय लिनुभएको उहाँको भनाई थियो । कानुनी रुपमा ६४ प्रतिशतको समर्थनमा बनेको प्रधानमन्त्रीलाई निर्णय गर्न नसक्ने अवस्थामा पुर्‍याएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने फैसला गर्नुभएको भन्दै उहाँले जनताले निर्वाचनबाट दण्डित वा पुरस्कृत गर्ने समेत बताउनुभयो ।

प्रचण्डको ढाडमा टेकेर टाउकोमा हान्ने प्रवृत्ति र माधव नेपालको कुण्ठा पाल्ने प्रवृत्तिका कारण अहिलेको समस्या आएको उहाँको भनाई थियो । वैशाखमा निर्वाचन हुने कुरामा ढुक्क हुन आग्रह गर्दै उहाँले चुनावको तयारी थाल्न कार्यकर्ताहरूलाई आव्हान समेत गर्नुभयो ।

उहाँले प्रथम अध्यक्ष ओलीले नेतृत्व गर्नुभएको नेकपा नै आधिकारिक भएकोले ओली नेतृत्वकै नेकपाले सूर्य चिन्ह पाउने समेत बताउनुभएको छ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दावा लामा, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, प्रदेश सह इन्चार्ज काशीनाथ अधिकारी, जिल्ला सह इन्चार्ज रामेश्वर राना लगायतले नेकपा प्रचण्ड–नेपाल समूहले सरकारलाई काम गर्न नदिएको र सरकारका राम्रा काम र जनतामाझ पुर्‍याउन र पार्टीको काम छाडेर प्रचण्ड–माधव समूह सत्ता लिप्ततामा लागेको बताउनुभयो ।

सरकारलाई अपदस्थ गर्ने गरी गरेको षड्यन्त्रलाई विफल गर्न प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुभएको भन्दै उहाँहरूले जनताबाट विश्वास प्राप्त प्रधानमन्त्रीले अन्तिम फैसलाको लागि जनतामाझ जाने निर्णय लिनुभएको बताउनुभयो ।

भेलामा नेकपा मकवानपुरका जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामीलाई पार्टी हित विपरीत काम गरेको भन्दै पार्टीबाट निष्कासन गरेको घोषणा गर्दै नेता एकालाल श्रेष्ठलाई नयाँ अध्यक्ष घोषणा गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button