तपाईँ सुन्दै हुनुहुन्छः

उत्पादनमा कमी आएपछि सुन्तलाको भाउ अहिले सम्मकै उच्च

सोलुखुम्बु । सोलुखुम्बुमा सुन्तलाको भाउ अहिले सम्मकै उच्च भएको छ । अहिले प्रति केजी सरदर १२० रुपियाँसम्म सुन्तलाको खरिद बिक्री भइरहेको छ ।
अघिल्ला वर्षहरूमा ६० देखि ७० रुपियाँ केजीमा बिक्री भएको सुन्तला यो वर्ष बढेर एक सय रुपियाँदेखि १२० रुपियाँसम्म पुगेको व्यापारीहरूले बताएका छन् । सुन्तला उत्पादनमा भारी गिरावट आएपछि मूल्य वृद्धि भएको स्थानीय कृषकहरू बताउँछन् ।
जिल्लाको सुन्तला उत्पादन हुने क्षेत्र थुलुङ दूधकोसी, नेचासल्यान र माप्यदूधकोशी गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला उत्पादनमा गिरावट आएको हो । विगतका वर्षको तुलनामा करिब ७५ प्रतिशत सुन्तला उत्पादनमा कमी आएकाले जिल्लामा सुन्तलाको भाउ अझै बढ्न सक्ने थुलुङ दूधकोसी गाउँपालिकाको देउसा रनेमका रामकुमार राईले बताउनुभयो ।
सुन्तलामा कीरा पर्नुका साथै बढी वर्षा भएकाले समस्या भएको अर्का कृषक सविन राईको भनाइ छ । केही वर्षदेखि सोलुखुम्बुमा सुन्तला जोन क्षेत्र नै निर्माण गरेर काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सम्पर्क कार्यालय सोलुखुम्बुले प्रभावकारी रुपमा किसानको समस्या समाधान गर्न नसक्दा सुन्तला किसानलाई मर्का परेको उत्पादक किसानको गुनासो छ ।
प्राविधिक सुनिता पाण्डेले भने सुन्तला उत्पादन घट्नुको कारण पत्ता लगाई आगामी वर्षहरूमा सुन्तला उत्पादनमा सुधार ल्याउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button