सुकुम्वासीको समस्या समाधान छिट्टै हुन्छ : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा अर्यालले सुकुम्वासीको समस्या छिट्टै समाधान हुने बताउनुभएको छ ।
भूमि सम्बन्धी समस्या समाधान आयोगद्वारा आयोजित स्थानीय तह अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अर्यालले भूमिहीनहरूको ६ दशक लामो आन्दोलनलाई सार्थकता दिन सरकार कटिबद्ध भएर अगाडि बढेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘कोही भूमिहीन हुने कोही भूमिको मालिक हुने यो परिस्थिति विभेदपूर्ण हो । सबै भूमिको मालिक हुनुपर्छ ।’
जिल्ला समन्वय समितिले समन्वय गरेको अभिमुखीकरणमा मन्त्री अर्यालले भन्नुभयो, ‘६ दशक लामो आन्दालेनले अब सार्थकता पाउँछ । सामाजिक न्याय स्थापित हुन्छ, अन्यायमा परेका नागरिकले न्याय पाउनुहुनेछ ।’
सरकारले भूमि सम्बन्धी समस्याको समाधान गर्न आयोग बनाएर अगाडि बढेको भन्दै पहिलो चरणमा जिल्लाका ७ पालिका र बाँकी तहहरूमा दोस्रो चरणमा गरी चरणबद्ध कार्यक्रम हुने भन्दै जिल्लाका सबै सुकुम्वासीको समस्या असार मसान्तसम्म समाधान गर्न प्रतिबद्ध भएर काम गर्न आग्रह गर्नुभयो ।
४८ जिल्लाका पालिकाहरूमा पहिलो चरणमा भूमिको समस्या समाधान गरी सामाजिक न्याय स्थापित गर्नका लागि सरकारले कानुन निर्माण गरेर संरचना निर्माण गरी स्थानीय तहमा सर्वेक्षण रेकर्ड व्यवस्थित राख्न सफ्टवेयरको प्रयोग गरिएको उहाँले बताउनुभयो । प्रविधिको अधिकतम प्रयोग गरी काम अगाडि बढेको भन्दै यसले भ्रष्टाचारलाई न्यूनीकरण गर्ने उहाँको विश्वास छ ।
सुकुम्वासी र भूमिहीनको व्यवस्थापन बिना वैज्ञानिक भूमि व्यवस्थापन हुन नसक्ने भन्दै पिडामा भएका आफ्ना नागरिकलाई उचित व्यवस्थापन गर्न स्थानीय तहलाई उहाँले आग्रह गर्नुभयो । भूमिको अधिकतम प्रयोग गरी नागरिकलाई सक्षम बनाउन सरकारले भूमि सम्बन्धी विभिन्न कार्यक्रमहरू समेत ल्याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजमार्गका छेउछाउ, नदी किनार र भूक्षयको सम्भावित स्थानमा राख्नुभएन । यी बाहेक आफ्ना नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहले सङ्घ र प्रदेशसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ ।’ उहाँले पिडामा भएका आफ्ना नागरिकलाई सार्वजनिक जग्गामै भए पनि स्थानान्तरण गरी नागरिकलाई सुरक्षित गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्