तपाईँ सुन्दै हुनुहुन्छः

लागू औषध गाँजा र हतियारसहित एक जना पक्राउ

बारा  । बारा प्रहरीले अवैध लागु औषध गाँजा र हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढ बाराबाट प्रहरी निरीक्षक विकास थपलियाको कमाण्डमा अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले लागु औषध गाजासहित शनिबार राती एक जनालाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो  ।

विशेष सुुचनाको अधारमा निजगढ नगरपालिका वडा नं. १३ स्थित भक्तलाल खोलाको बगरमा पुगेको प्रहरी टोलीलाई अवैध लागु औषध गाँजा ओसार पसार खरिद बिक्री गरी रहेका  ८/१० जनाको समूहमा रहेका तस्करहरूले प्रहरी टोलीमाथि गोली फायर गरेको थियो ।

प्रहरी टोलीले प्रतिकार स्वरूप ठुलो चाइनिज पेस्तोलबाट ५ राउण्ड गोली फायर गरी तस्करहरू मध्येका जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं. ६ बस्ने वर्ष ४७ को इमान सिंह तामाङलाई पक्राउ गर्न सफल भएको छ ।

घटनास्थलबाट प्रहरीले पाँच वटा सेतो बोराभित्र लुकाइ छिपाइ राखेको १०२ केजी अवैध लागू औषध गाँजा र पक्राउ परेका तामाङको साथबाट लोड भएको एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

पक्राउ परेका तामाङमाथि  हातहतियार खरखजाना र लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button