कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ। गैर आवासीय नेपाली संघका अनुसार यो साता युकेमा दुई जना र मलेसिया एक जनाको निधन भएको हो ।
गैर आवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १७ पुगेको छ ।
सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ती मध्ये ५१ हजार १ सय १६ जना कोरोना मुक्त भएका छन् । यो कुल सङ्क्रमितको ९३ प्रतिशत हो ।
गैर आवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथअफ्रीका, युके, भारत, युएईमा रहेका थप नेपालीहरूमा कोरोना सङ्क्रमण देखिएको छ ।
करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा (कोभिड १९)को विश्वव्यापी प्रभावपछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरिएको छ ।
गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार समितिका संयोजक डा।बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन गैर आवासीय नेपाली सङ्घ सक्रिय रुपमा लागेको छ ।
विदेशका विभिन्न देशमा ९ हजार ६ सय ५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पिसीआर टेष्ट, तालिम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको गैर आवासीय नेपाली सङ्घले जनाएको छ ।
सङ्घले साउदी, मलेसिया, कतार, संयुक्त अरबइमिरेट्स (युएई), बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वयंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ ।
विभिन्न दात्री संस्थाहरुद्धारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएका, लगायतलाई आर्थिक सहयोग गरिएको सङ्घले जनाएको छ ।
हालसम्म गैर आवासीय नेपाली सङ्घले ८ सय ६२ जनालाई काठमाडौंबाट गन्तव्यसम्म पुग्न नि:शुल्क बस भाडा स्वरूप आर्थिक सहयोग समेत गरेको छ । सङ्घले देशका सातै प्रदेशमा १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
अझै सतर्कता अपनाउ
नेपालमा कोरोना सङ्क्रमितको दर कम हुँदै जानु सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना नटरेको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले बताउनु भएको छ ।
अझै पनि सतर्कता नअपनाउने र खोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने हो भने नेपालले अहिलेको भन्दा पनि ठुलो क्षति व्यहोर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।
जोखिम कायम भएकाले व्यक्तिगत सुरक्षा, मास्कको प्रयोग, सार्वजनिक स्थलमा सुरक्षा मापदण्ड अपनाउन भन्दै उहाँले जोखिम घट्यो भन्ने बेला नभएको स्पष्ट बताउनुभयो ।
बेलायतलगायतका युरोपेली मुलुकमा फैलिएको सङ्क्रमणका कारण नेपालीहरू पनि अछुतो नरहेको भन्दै उहाँले उच्च सावधानी अपनाउन आग्रह गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्