तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ निर्वाचनमा जाने कुरा प्रधानमन्त्रीको राजनीतिक अधिकार : खानेपानी मन्त्री

फाइल तस्बिर
भक्तपुर  । खानेपानी मन्त्री मणिचन्द्र थापाले जटिल अवस्थामा नयाँ निर्वाचनमा जाने कुरा प्रधानमन्त्रीको राजनीतिक अधिकार हुने अन्तर्राष्ट्रिय अभ्यास रहेको बताउनुभएको छ ।युवा गैसस महासङ्घ भक्तपुरले आयोजना गरेको बधाई तथा साक्षात्कार कार्यक्रममा मन्त्री थापाले जटिल अवस्थामा राजनीतिक निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई भएको भन्दै बहुमत प्राप्त प्रधानमन्त्रीले नयाँ निर्वाचनमा जाने घोषणा गर्नु स्वभाबिक बताउनुभयो ।
मुलुकलाई स्थायित्वमा लैजानका लागि नयाँ निर्वाचनको विकल्प नभएको उहाँको भनाई छ । संसद् विघटनका विषयमा  टीकाटिप्पणी र बहस  हुनु स्वाभाविक भन्दै बाध्यात्मक परिस्थितिमा जनता नै न्यायाधीश भएकाले निर्वाचन मार्फत जनतामा जानु सही मार्ग भएको उहाँको भनाई छ ।
मन्त्री थापाले संसद् पुनः स्थापना हुनै नसक्नेमा जोड दिँदै निर्वाचनले मात्रै मुलुकमा स्थायित्व ल्याउने र देखिएको सङ्कटको समाधान गर्ने बताउनुभयो ।बहुमत प्राप्त सरकार हुँदा पनि काम सही ढङ्गले सञ्चालन हुन नसक्दा र पार्टीभित्रको झगडाले देश अस्थिरतातिर जान नपाओस् भनेर त्यसलाई रोक्न निर्वाचन घोषण गर्नु परेको उहाँले बताउनुभयो ।
वर्तमान परिस्थितिमा संसद् पुनः स्थापना हुनु देश पछाडि धकेलिनु भएको बताउनुभयो । पार्टीका प्रथम अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली रहेकाले आफूहरूले पार्टीको वैधानिकता पाउने उहाँको भनाई थियो ।मन्त्री थापाले सरकारका कामका सन्दर्भमा सकारात्मक र परिणाममुखी सन्देश दिन हरदम सकृय रहने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button