तपाईँ सुन्दै हुनुहुन्छः

भिक्टोरी हाफ म्याराथनको उपाधि रायमाझीलाई

रुपन्देही । रुपन्देहीको ऐतिहासिक जितगढी किल्लाको प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा सम्पन्न भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन् ।

म्याराथनको २१ किलोमिटर दुरी उनले १ घण्टा ११ मिनेट ४९ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारेका हुन् ।

ऐतिहासिक जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै मध्यपश्चिम पृतना मुख्यालय योगीकुटी बुटवलको अगुवाई तथा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा सम्पन्न भएको हो ।

प्रतियोगितामा नारायण दल गण कपिलवस्तुका सुबास कार्कीले १ घण्टा १४ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने बिन्दवासिनी बहिनी चन्द्रौटा कपिलवस्तुका सशस्त्र प्रहरी बलका गौरव भण्डारीले १ घण्टा १४ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे ।

यसैगरी महिलातर्फको उपाधि गरुण दल बुटवलकी निर्मला केसीले हात पारिन् । उनले १ घण्टा ३३ मिनेट ३४ सकेण्डमा दुरी पार गरेकी हुन् । सशस्त्र प्रहरी बल बिन्दवासिनी बाहिनीका भावना शाहीले १ घण्टा ३६ मिनेट ५ सेकेण्डमा पार गर्दै दोस्रो भइन् भने  गोरख दल गण पाल्पाकी मिनिसा थापा १ घण्टा ३७ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् ।

विजेता प्रथम, द्धितीय र तृतीयहरुले क्रमशः नगद रु २५ हजार, २० हजार र १५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरे ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा पर्यटनमन्त्री लीला गिरी र नेपाली सेना मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी सन्जय थापाले जितगढी किल्ला परिसरमा आयोजना गरिएको विशेष कार्यक्रममा विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

‘जितगढीको सान नेपालीको पहिचान’ भन्ने नारासहित आयोजना गरिएको विजय दौडमा मुख्यमन्त्री पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीसहित विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए ।

जीतगढीमा नेपाल र अङ्ग्रेजबीच सन् १८१४ देखि १८१६ सम्म भएको युद्धमा नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button