कर्णाली राजमार्गको पहिलो बेलीब्रिज जीर्ण
जुम्ला । कर्णाली राजमार्गको पहिलो बेलीब्रिज पुल जीर्ण बन्दै गएको छ । कालिकोट सदरमुकाम मान्म, जुम्ला र मुगुलाई कर्णाली राजमार्गसँग जोड्ने पहिलो बेलीब्रिज पुल जीर्ण बन्दै गएको हो ।
करिब डेढ दशक पहिले मान्माको फेद सेरीघाटमा निर्माण गरिएको उक्त बेलीब्रिजमा क्षमता भन्दा ठुला सवारी सधान गुड्ने गरेकै कारण पुल जीर्ण भएको छ । पुलमा माटो भरिएर खिया लागिसकेकाले कुनै पनि बेला दुर्घटना हुनसक्ने यात्रुहरुको चिन्ता छ ।
२०६२ सालबाट कर्णाली राजमार्गमा गाडी गुड्न थालेका हुन् । पुलको क्षामता भन्दा दोब्बर तेब्बर बढी तौलका ठुला सवारी गुडेपछि कर्णाली राजमार्गको पहिलो बेलीब्रिज पुल जीर्ण बनेको सडक डिभिजन जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो “एक त राजमार्ग इन्जिनिरिङ मापदण्डमा छैन् । बेलीब्रिजको सट्टामा त्यतिबेलै पक्की पुल निर्माण गर्नुपथ्र्यो । बेलीब्रिज पुलमा यात्रुवाहक सवारी बाहेक ठुला मालवाहक सवारी चलाउदा जोखिम बढ्छ ।”
बेलीब्रिज जीर्ण बन्दै गएपछि सेरीघाट नजिकै सडक डिभिजन सुर्खेतको मातहतमा पक्की पुल निर्माण कार्य अघि बढेको छ । दुबै तर्फका स्याल्याब खडा हुदैछन् । बेलीब्रिज जीर्ण बन्दै जाँदा पक्की पुल निर्माण कार्यलाई दु्रतगतिमा अघि बढाइएको छ ।
दैखोलादेखि माथि जुम्लाको कार्यक्षेत्र भएपनि सेरिघाट पक्की पुल निर्माण सुर्खेतले जिम्मेवारी लिएको सडक डिभिजन जुम्लाका प्रमुख भण्डारीले उल्लेख गर्नुभयो ।
जीर्ण बेलीब्रिजकै आडमा बन्न लागेको पक्की पुलले सम्भावित दुर्घटना जोखिम कम गर्ने आशा गरिएको छ । पक्कीपुल निर्माण पश्चात् मालवाहक सवारी पक्की पुल र यात्रुवाहक सवारी बेलीब्रिज पुलबाट सञ्चालन हुने छन् ।








प्रतिक्रिया राख्नुहोस्