तपाईँ सुन्दै हुनुहुन्छः

साझाको अध्यक्षमा सुब्बा निर्वाचित

काठमाडौं । साझा प्रकाशनको २४औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा डा विजय सुब्बा निर्वाचिन हुनुभएको छ ।

साहित्यकार तथा निवर्तमान सांसद डा सुब्बा ४१२ मतसहित विजयी हुनुभएको र उहाँका प्रतिस्पर्धी डा जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्यसचिव होमनाथ भट्टराईले जानकारी दिनुभयो ।

यही पुस २१ देखि २४ गते हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको थियो । डा सुब्बा र डा कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य हुनुहुन्छ । भाषा–साहित्यको क्षेत्रमा ऐतिहासिक मानिने सो संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिको अध्यक्षमा पहिलोपटक निर्वाचन भएकोे हो ।

विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्ति गरिन्थ्यो । निर्वाचित पदाधिकाारीको कार्यकाल चार वर्षको हुनेछ ।

निर्वाचित भएसँगै अध्यक्ष डा. सुब्बाले हरेक हिसाबले ध्वस्त प्रकाशनलाई ब्युँताएर अगाडि बढाउने चुनौतीपूर्ण काममा आफू इमानदार भएर लाग्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण अग्रज स्रष्टा र मतदाताबाट प्राप्त सद्भावप्रति श्रद्धाभाव व्यक्त गर्नुभयो ।

कूल एक हजार ४५७ मतदाता (अंशियार) रहेको सो प्रकाशनको निर्वाचनमा ६४३ मत खसेको र ४८ बदर भएको थियो । प्रकाशनको सञ्चालक सदस्यमा यसअघि हरि भण्डारी, डीपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समितिको संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । सदस्यका उम्मेदवार वियोगी बुढाथोकी, ज्ञानु अधिकारी, महेश प्रसाईँ र यशोदा अधिकारीले फिर्ता लिएपछि सहमति भएको थियो । निर्वाचनका लागि अधिवक्ता मनोहर लामिछानेको संयोजकत्वमा समिति गठन भएको थियो ।

साधारणसभाको गणपूरक सङ्ख्याका लागि भने अलग्गै उपस्थिति पुस्तिकामा उपस्थिति गराएको जनाइएको छ । शनिबार (२५गते) भर्चुअल रुपमा हुने साधारणसभामा २३औँ साधारणसभापछिका विभिन्न आर्थिक वर्षका प्रगति प्रतिवेदन प्रस्तुत र छलफल हुनेछ ।

संस्थाको कूल नौ सदस्यीय सञ्चालक समितिमा अर्थ मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विषयगत मन्त्रालयबाट एक–एक जना सहसचिव रहनेछन् भने एक विज्ञ सदस्यमा नेपाल सरकारले नियुक्त गर्नेछ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button