तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: लुम्बिनी प्रदेशको छनौट शुरु

रुपन्देही । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता (पुरुष)का लागि लुम्बिनी प्रदेशको छनौट प्रतियोगिता भैरहवाको सिद्धार्थ रंगशालामा शुरु भएको छ । समूह ए अन्तरगत रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासीका खेलहरु भैरहवामा शुरु भएको हो ।

समूह बी अन्तरगत बाँके, दाङ र बर्दिया जिल्लाका खेलहरु दाङको देउखुरीमा पुस २६ बाट हुनेछ ।

भैरहवामा भएको उद्घाटन खेलमा रुपन्देहीले नवलपरासीलाई १६३ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको रुपन्देहीले निर्धारित ३८ ओभरको खेलमा ५ विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।

खराब प्रकाशका कारण खेल ढिलो सुरु भएकोले खेल ४० ओभरबाट घटाई ३८ ओभरको गरिएका थियो ।

रुपन्देहीका लागि सन्दिप सुनारले ५९ रन बनाए । उनले ६४ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै देव खनालले ४७ र प्रकाश केसीले ४४ रनको योगदान गरे भने सन्दिप रसाइलीले २६ रन बनाए ।

बलिङमा नवलपरासीका अजित यादवले २ तथा जितेन्द्र साहनी, इकलाख अहमद गया साहनीले समान १–१ विकेट लिए ।

प्रतिउत्तरमा २१४ रनको विजयी लक्ष्य पाएको नवलपरासीले २२ ओभर १ बलमै ५० रन बनाई सबै विकेट गुमायो । नवलपरासीका लागि सर्वाधिक अमर रसाइलीले १४ रन बनाए भने अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । ५ जना खेलाडी शून्य रनमा आउट भए ।

नवलपरासीलाई सस्तैमा आउन गर्ने क्रममा विक्रम भुसालले ५, नितेश थापाले ३ र अनिल खरेलले २ विकेट लिएका थिए । खेलमा रुपन्देहीका विक्रम भुषाल म्यान अफ द म्याच घोषित भएका थिए ।

नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगितामा शनिबार रुपन्देही र कपिलवस्तुबीच खेल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button