पार्टी र राष्ट्रलाई असफल हुनबाट जोगाउन प्रतिनिधिसभा विघटन : मन्त्री गुरुङ

दोलखा । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रको विकास र समृद्धिको लागि पूर्ण उर्जासहित काम गरिरहनु भएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्रैबाट असहयोग भएको आरोप लगाउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाले आज सदरमुकाम चरिकोटमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा नेकपाको केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री गुरुङले पार्टी र राष्ट्रलाई असफल हुनबाट जोगाउन प्रतिनिधिसभा विघटन गर्नु परेको बताउनुभयो ।
विगतमा पनि आफूले एकताको लागि हदैसम्मको प्रयत्न गरेको उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले नेकपाको एकता कायम राख्न दोलखाबाट सन्देश दिनु पर्ने र त्यसको लागि नेता कार्यकर्ताले भूमिका खेल्नु पर्ने बताउनुभयो ।
प्रतिनिधिसभा निर्वाचन लगतै पार्टी एकताको लागि आफूले कार्यकर्ता हत्याका आरोपिहरुलाई समेत माफी दिएको प्रसङ्ग उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले राष्ट्रको समृद्धि र पार्टी एकताको लागि आफु अहिले पनि जुनसुकै त्याग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा बागमती प्रदेश कमिटीका सचिव आनन्दप्रसाद पोखरेलले अहिलेको लडाई राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको पक्षमा र आत्मसमर्पणवादको विरुद्ध रहेको बताउनुभयो ।
पूर्व मन्त्री पोखरेलले २०७३ सालमा जुन तत्त्वले केपी ओलीको सरकार हटाउन भूमिका खेले त्यही शक्ति मुलुकलाई अहिलेको अवस्थामा पुर्याउन जिम्मेवार रहेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियताको पक्षमा उभिएकै कारण दक्षिण छिमेकीले मन नपराएको समेत बताउनुभयो ।
बृहत् कार्यकर्ता भेला नेकपा दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्