तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात रोगका कारण कुखुरा मर्दै, उपचार गर्ने निकाय बेखबर

अछाम । अज्ञात रोगका कारण अछाम जिल्लामा पछिल्लो समयमा धमाधम कुखुरा मर्न थालेपछि किसान चिन्तामा परेका छन् । जिल्लाका विभिन्न ठाउँमा व्यवसायिक रुपमा कुखुरा पालन गरिरहेका किसानहरु यसरी कुखुरा मर्न थालेपछि निकै चिन्तित बनेका छन ।

निकै दुख्ख गरेर पालेका कुखुराहरु मरेपछि आफ्नो दैनिकी चलाउन समेत समस्या भएको मंगलसेन नगरपालिका वाड न ६ का किसान पुष्पराज भण्डारीले गुनासो गर्नुभएको छ । नन्दादिप लोकल कृषि कुखुरा फर्म दर्ता गरी व्यवसाय गरिरहनुभएका भण्डारीका एकैदिन २ सय ८५ वटा कुखुरा मरेका छन् । विभिन्न ठाउबाट संकलन गरेर ल्याएका कुखुराहरु एकैरात मर्दा आफुलाई निकै चिन्तित बनाएको भण्डारीले बताउनुभयो ।

यता ठुलासैनमा होटेल व्यावसाय गर्दै आएका नरेन्द्र भण्डारीका पनि १८ वटा लोकल कुखुरा मरेका छन् । गाउँमा गएर संकलन गरेर ल्याएका ठुलठुला लोकल कुखुराहरु एकैरातमा सखाप भएपछि आफुलाई निकै ठुलो नोक्सान भएको भण्डारीले बताउनुभयो ।

उता पंञ्चदेवल बिनायक नगरपालिकाका भिम बहादुर नेपालीका पनि ४८ वटा लोकल कुखुरा एकैपटक मरेका छन् । आफुले पालेका ४८ ओटा कुखुरा मरेको नेपालीले जानकारी दिनुभयो । जिल्लाका अन्य ठाउँमा पनि कुखुराहरु मर्न थालेका छन । दिनहुँ आफ्ना कुखुरा मर्न थालेपनि सम्बन्धित निकायले चाँसो नदेखाएको उनको गुनासो छ ।

यता जिल्ला पशुसेवा कार्यालय अछामले भने बिरामी कुखुराको मासु नखान अनुरोध गरेको छ । मरेका कुखुरा खाल्डो खनेर गाड्न समेत कृषकलाई अनुरोध गर्नुभएको छ । कुखुरा के कति कारणले मरे पत्ता लगाउन नमुना परिक्षणको लागि धनगढी पठाईएको जिल्ला पसुसेवा कार्यालय अछामले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button