तपाईँ सुन्दै हुनुहुन्छः

क्रोएसियाका राष्ट्रपति र मन्त्रीपरिषद्का सदस्यलाई कोरोनाको खोप

जग्रेब। क्रोएसियाका राष्ट्रपति र मन्त्रीपरिषद्का अधिकांश सदस्यहरुले कोरोनाभाइरस विरुद्धको खोप लगाउनु भएको छ ।

सञ्चार माध्यमहरुलाई फोटो तथा भिडियो खिच्न मिल्ने गरी सार्वजनिक रुपमा उहाँहरुले खोप लगाउनु भएको हो ।

खोपप्रति आम नागरिकको विश्वास र आकर्षण बढाउनका लागि सार्वजनिकरूपमा उच्च पदाधिकारीहरूले खोप लगाउनुभएको जनाइएको छ ।

बिहीबार उहाँहरूले खोप लगाएसँगै क्रोएसियामा कोरोनाविरुद्धको खोप लगाउने आम अभियान नै सुरु भएको छ । तर खोप लगाउने क्रम भने डिसेम्बर २७ देखि नै सुरु भएको थियो ।

कुल ४२ लाख जनसङ्ख्या रहेको मुुलुकमा तत्काल २० हजार जनालाई खोप दिने सरकारको योजना छ । सवैलाई खोप दिन नसकिने भएकाले प्राथमिकता निर्धारण गरेर प्राथमिकता सूचीमा परेकाहरुलाई सुरुमा खोप दिइनेभएको हो ।

सरकारले सुरुमा स्वास्थ्यकर्मी, दीर्घरोगी र ६५ बर्षभन्दा बढी उमेर भएकाहरुलाई खोप दिने नीति बनाएको अधिकारीहरुले जनाएका छन् ।

त्यस बाहेकका अन्य नागरिकलाई भने क्रमशः अरु चरणहरुमा खोप दिइने सरकारी अधिकारीहरुको भनाइ छ ।

क्रोएसियामा फिजर बायोएनटेक खोप प्रयोग गरिएको छ । खोपका बारेमा गरिएको सर्वेक्षणका क्रममा ४४ प्रतिशतले खोप लगाउने रुची नदेखाएको पाइएको छ ।

त्यसैगरी ४६ प्रतिशतले खोप लगाउनुपर्ने पक्षमा आफ्नो मत जाहेर गरेका छन् भने दश प्रतिशतले खोप लगाउने वा नलगाउने बारेमा अनिर्णित अवस्थामा रहेको जनाएका छन् ।

“सवै नागरिकले कोरोना विरुद्धको खोप लगाउन पाउनुपर्छ भन्नेमा म स्पष्ट छु, त्यसको व्यवस्था हुने विश्वास दिलाउन पनि चाहन्छु,” राष्ट्रपति जोरान मिलानोभिकले भन्नुभयो ।

आफुले खोप लगाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले मन्त्रीपरिषद्का दश जनाले खोप लगाएको जानकारी दिनुभयो ।

क्रोएसियाका प्रधानमन्त्री अन्ड्रेज प्लेन्कोभिक र अरु छ मन्त्री यसअघि नै कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।

महामारी फैलिएदेखि क्रोएसियामा अहिलेसम्म कोरोनाभाइरसबाट दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने चार हजारभन्दा बढीको मृत्यु भएको छ ।रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button