तपाईँ सुन्दै हुनुहुन्छः

कैदी बन्दीलाई पढ्न पुस्तक हस्तान्तरण

काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले काठमाडौं उपत्यकास्थित तीनवटा कारागार कार्यालयका प्रमुखहरूलाई कैदवन्दीलाई अध्ययन गर्ने प्रयोजनका लागि पुस्तक हस्तान्तरण गर्नुभएको छ ।

डिल्लीबजार कारागार कार्यालय, नख्खु कारागार कार्यालय, र जगन्नाथदेवल कारागार कार्यालयलाई ती कारागारमा रहेका कैदीवन्दीलार्इ अध्ययन गर्ने वातावरण सिर्जना गर्न पुस्तकालय प्रयोजनका लागि महान्यायाधिवक्ताको कार्यालयबाट रु १ लाख १७ हजार मुल्य बराबरका पुस्तक प्रदान गरिएको हो ।

महान्यायाधिवक्ता खरेलले कारागार कार्यालय, डिल्लीबजारका जेलर श्री गणेश आचार्य, कारागार कार्यालय, नख्खुका जेलर मोहन अधिकारी र कारागार कार्यालय, जगन्नाथदेवलका जेलर लक्ष्मीप्रसाद बाँस्कोटालाई कैदी बन्दीलार्इ अध्ययन गर्नका लागि पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

महान्ययाधिवक्ता खरेलले कारागारमा रहेका कैदीवन्दीको मानव अधिकारको संरक्षण, कैदीवन्दीको मानवोचित व्यवहारको अवस्था र कारागारहरूको भौतिक सुधारका लागि महान्यायाधिवक्ताको कार्यालयबाट कारागार कार्यालयहरूको अनुगमन गरी सम्बन्धित निकायलाई निर्देशन दिने गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, कारागारमा कैदीलार्इ कानून बमोजिम दण्डित गरेर समाजमा पुर्नस्थापना हुन रूपान्तरण गर्न राखिने भएकाले कैदीवन्दीलाई अध्ययन गर्ने वातावरण सिर्जना गर्दा सकारात्मक प्रभाव पर्छ ।

महान्यायाधिवक्ता खरेलले कारागारमा रहेका कैदीवन्दीलाई सुध्रिने वातावरण तयार गर्न राज्यका सबै निकायहरू मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त पुस्तकहरूले कारागारमा रहेका कैदीवन्दीहरूलाई अध्ययन गर्ने वातावरण सिर्जना गरी कैदीवन्दीमा सकारात्मक परिवर्तन ल्याउनमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले महान्यायाधिवक्ता र मातहत सरकारी वकीलहरूबाट कारागार निरीक्षण गरी प्राप्त हुने प्रतिवेदनहरूमा उल्लेख भएका सुझावहरूको कार्यान्वयन कारागार कार्यालयहरूबाट साधन स्रोतको अधिकतम उपयोग गरी कार्यान्वयन भइरहेको जानकारी दिनुभयो ।

महान्यायाधिवक्ताको कार्यालयले संस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा आठ वटा कारागारहरूका लागि नेपालको संविधान, ऐन नियमका पुस्तकहरू लगायत अन्य पठनीय सामाग्रीहरू खरिद गरी हस्तान्तरण गर्न लागेको हो ।

उक्त पुस्तक हस्तान्तरण कार्यक्रमको सञ्चालन सहायक न्यायाधिवक्ता श्री शिव वाग्लेले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button