तपाईँ सुन्दै हुनुहुन्छः

हुलाकी मार्गले मधेसको भाग्य परिवर्तन हुने : मुख्यमन्त्री पोखरेल

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले हुलाकी मार्गले मधेसको भाग्य परिवर्तन हुने बताउनुभएको छ ।  प्रदेश सरकारको महत्त्वपूर्ण कार्यको रुपमा हुलाकी सडक रहेकोले यस सडक निर्माणपश्चात् नागरिकको दैनिकीमा समेत परिवर्तन हुने उहाँले बताउनुभयो ।
आज कपिलवस्तुमा निर्माण भएको सडकको बिजयनगर गाउँपालिका–५ खडैचामा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको राजधानीसँग जोडिएको कृष्णनगर भन्सारको अवस्था दयनीय रहेकोले अब परिवर्तन हुने बताउनुभयो ।
भन्सार कार्यालयको अनुगमन गरेर आएकोले मुख्य नाकाको रुपमा कृष्णनगरलाई विकास गरिने पोखरेलले बताउनुभयो । कपिलवस्तुमा सिँचाइको लागि नौमुरे सिँचाई योजनाको काम अघि बढेकोले यसले जिल्लाको सिँचाइको समस्यालाई समाधान गर्ने बताउनुभयो ।
सुकुम्वासी बस्तीको बाहुल्यता रहेको बिजयनगरवासीलाई अहिलेकै सरकारले लालपुर्जा दिने बताउनुभयो ।  नेकपाका प्रदेश इन्चार्जसमेत रहनुभएका पोखरेलले प्रधानमन्त्री केपी ओलीलाई लोकतन्त्र विरोधी भनेर अपमान गर्न नमिल्ने बताउनुभयो ।
देशमा सङ्कट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद् विघटन गरेको बताउनुभयो । अहिले ओलीको बिरोध गरिरहेकाहरूले अबको ५ वर्षपछि जयजयकार गर्दै घरको विशिष्ट ठाउँमा फोटा राखेर सम्मान गर्ने पोखरेलले बताउनुभयो । सडकमा आन्दोलन गरिरहेका प्रचण्ड–माधव समूहका नेताहरूलाई चुनावमा होमिन सुझाव दिनुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पहिलो वर्ष प्रदेश सरकारले सबैभन्दा ठुलो बजेट आरटिओ सडकलाई विनियोजन गरेर काम सम्पन्न गरेको बताउनुभयो । कार्यक्रममा बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले आरटिओ सडक निर्माणले स्थानीयहरूलाई सहज भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button