जलजलामा १५ हजार रोपनी जग्गा अतिक्रमण

पर्वत । पर्वतको जलजला गाउँपालिकामा सार्वजनिक जग्गा कब्जा गरी दुरुपयोग गरेको पाइएको छ ।
गाउँपालिकाले एक वर्षसम्म गरेको अध्ययनका क्रममा १५ हजार २ सय ८२ रोपनी सार्वजनिक जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइएको हो ।
नम्बर २, ३, ४, ७ र ८ मा स्थानीय बासिन्दाले सार्वजनिक जग्गा आफूखुसी भोगलचन गर्दै आएका हुन् ।
सार्वजनिक जग्गा खोजी अभियानका क्रममा मालढुंगा–बेनी सडकछेउ तथा कालीगण्डकी किनारमा मात्रै ठुलो परिमाणमा अतिक्रमण गरिएको पाइएको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो ।
जग्गा मिचेर आरसिसी भवन समेत बनाइएको पाइएको छ । धेरैजसो जग्गा राजमार्गसँग जोडिएको, कालीगण्डकी नदी किनारमा रहेको र त्यहाँ व्यक्तिले कब्जा गरेको पाइएको अध्यक्ष मल्लले बताउनुभयो ।
मालढुंगा–बेनी सडकछेउ, मिलनचोक, वारीबेनीलगायत स्थानका जग्गामा व्यक्तिले भवन बनाएका छन् । यस्ता जग्गा केन्द्र सरकारसँगको समन्वयमा फिर्ता ल्याएर भाडामा लगाउने, सार्वजनिक आम्दानी लिने गरी उपयोग गर्ने र विपन्नलाई आयआर्जनका लागि उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार पहिलो चरणमा भेटिएको जग्गा व्यवस्थापनपछि दोस्रो चरणमा अरू वडाको जग्गा पनि खोजी गरिनेछ । धेरैजसो सार्वजनिक जग्गा बेवारिस भएकाले त्यसको खोजी गरी छिट्टै व्यवस्थापन गर्न गाउँपालिकाले दीर्घकालीन योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।
गाउँपालिकाले आन्तरिक आम्दानी बढाउन सार्वजनिक जग्गामा नगदे बाली लगाउने, उद्योगधन्दा खोल्नेलगायत काममा समेत उपयोग गर्ने योजना बनाएको छ । त्यसका लागि कर्मचारी व्यवस्थापन गरिसकेको छ ।
सार्वजनिक जग्गा भाडामा लिएर खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँ सभाको निर्णय अनुसार गाउँपालिकाले बनौँ, शालिजा र लेखफाँटमा आलु खेती, माझफाँटमा धान, कोदो र गहुँ उत्पादन, बाँसखर्कमा सुन्तला र अन्य क्षेत्रमा मौसम अनुसार बालीनाली लगाउने योजना बनाएको छ ।
जग्गा भाडामा लिने गरी गाउँपालिकाले जग्गा खोजी गर्दै जाँदा व्यक्तिले धेरै जग्गा ओगटेको रहस्य खुलेको हो ।
गाउँपालिकाले सार्वजनिक जग्गा सबै गाउँपालिका मातहत ल्याउने कार्य सुरु गरेको र एक वर्षमा सबै जग्गा फिर्ता ल्याउने अध्यक्ष मल्लले दृढता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्