तनहुँका ७० विपन्न परिवारलाई न्यानो कम्बल वितरण

तनहुँ । तनहुँ सेवा समाज दोहा कतारले तनहुँका विभिन्न स्थानीय तहमा रहेका विपन्न परिवारलाई न्यानो कपडा कम्बल वितरण गर्न सुरु गरेको छ ।
रोजगारीका लागि कतार पुगेको तनहुँका युवा युवतीहरूले गठन गरेको समाजले जिल्ला भित्रको ७० परिवारलाई कम्बल सहयोग गर्ने लक्ष्य लिएको हो ।
निर्धारित कार्यक्रम अन्तर्गत बिहीबार शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाका २१ परिवारलाई कम्बल वितरण गरिएको समाजका सदस्य राजु सुवेदीले जानकारी दिनुभयो ।
उहाँले अन्य स्थानीय तहमा समन्वय गरी अबको चार दिनमा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
सुवेदीका अनुसार सेवा समाज कतारले मिर्गौला पीडित, चेलीबेटी बेचबिखन, अलपत्रमा परेका नेपाली नागरिकलाई हवाई टिकट, विद्यालयहरूलाई शैक्षिक सामग्री लगायतका कार्यक्रमहरू गर्दै आएको छ ।
यो कार्यक्रम गर्नका लागि कतारमा रहेको तनहुँका युवाहरूले आफ्नो कमाइको केही हिस्सा छुट्याएर तीन लाख रुपैयाँको बजेट विनियोजन गरेका थिए ।
समाजले स्थानीय तहका प्रत्येक वडाका विपन्न परिवारलाई सम्बोधन गर्ने गरी सहयोगका कार्यक्रम ल्याउने अर्का सदस्य केश गुल्मासान मगरले बताउनुभयो । “हामीहरूसँग बजेट पनि पर्याप्त नभएका कारण सबै वडाहरूलाई समेट्न सकेनौँ, आगामी कार्यक्रममा छुटेका वडाहरूसँग समन्वय गरेर काम गर्ने छौँ ।”मगरले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्