ठाकुर राम क्याम्पस वीरगंजका क्याम्पस प्रमुख डा.राजदेव कुशवाहाको निधन

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंजको क्याम्पस प्रमुख डा. राजदेव प्रसाद कुशवाहाको आज बिहीबार बिहान उपचारको क्रममा काठमाडौँमा असामयिक निधन भएको छ ।
विगत दुई महिनादेखि जन्डिस रोगले ग्रसित ५४ वर्षीय डा. कुशवाहाको काठमाडौँको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ४ बजे निधन भएको हो । लामो समय देखी शिक्षण पेशामा रहेका डा. कुशवाहा केही महिना पहिले मात्र ठाकुर राम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख हुनु भएको थियो ।
ठाकुर राम क्याम्पसको गणित विषयको लामो समय देखी विभागीय प्रमुख समेत रहनु भएका कुशल प्राध्यापक एवम् क्याम्पस प्रमुख कुशवाहाको निधनले वीरगंजको शैक्षिक क्षेत्रमा अपूरणीय क्षति भएको शिक्षाविदहरुले बताएका छन् । उहाँको श्रीमती तथा २ छोरा र १ छोरी रहेका छन् ।
क्याम्पस प्रमुख डा. कुशवाहाको अन्तिम श्रद्धाञ्जलीका लागि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, प्रदेश सभा सदस्य राजेश्वर साह तेली, वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी लगायतका व्यक्तिहरू उहाँकै निवासमा पुग्नु भएको थियो ।
मृतक कुशवाहाको आजै वीरगंज महानगरपालिकास्थित वहाँकै गाउँ कोहडीमा अन्तिम संस्कार समेत गरिएको छ ।
यसैबिच प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजका क्याम्पस प्रमुख डा. कुशवाहाको असामयिक निधनप्रति शोक व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ ।
मुख्यमन्त्री राउतले आज स्वर्गीय कुशवाहा संस्थापक रहेको वीरगंजको अर्को कलेज ओम इन्टरनेशनल कलेज पुगेर मुख्यमन्त्री राउतले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । ठाकुर राम क्याम्पसमा अध्यापन गराउँदाको दिनहरूलाई सम्झिँदै मुख्यमन्त्री राउतले उहाँको मिलनसार व्यक्तित्व, शालिन्ता अविस्मरणीय रहने उल्लेख गर्नु भयो । उहाँको निधनले ठाकुर राम क्याम्पस र वीरगंजको समग्र शैक्षिक क्षेत्रलाई अपूरणीय क्षति भएको मुख्यमन्त्री राउतले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्