राजस्व असुली प्रभावित हुँदा महानगरका ठुला योजना प्रोजेक्ट बैङ्कमै थन्किए

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले उठाउँदै आएको राजस्व असुली प्रभावित हुँदा विकास निर्माणका काममा स्रोतको अभाव भई महानगरपालिकाका अधिकांश ठुला योजना प्रोजेक्ट बैङ्कमा थन्किएका छन् ।
विकास निर्माणका योजनाहरू कार्यान्वयनका लागि स्रोतको अभाव भएपछि यस्ता योजना प्रोजेक्ट बैङ्कमा राख्नुपरेको महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले बताउनुभयो । महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ३ अर्ब ८६ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको भए पनि आन्तरिक आय खुम्चिदा समस्या भएको नगरप्रमुख सरावगीले बताउनुभयो ।
आयको आधार नै कमजोर बनेपछि यो वर्षको बजेटको आकार पनि साँघुरिएको छ । अघिल्लो वर्ष वीरगञ्ज महानगरले ४ अर्ब ४८ करोड रुपैयाँको बजेट बनाएको थियो ।
विनियोजित बजेटमध्ये विकास खर्चमा २ अर्ब १७ करोड ४६ लाख रुपैयाँ रकम छुट्याएको महानगरका लागि दीर्घकालीन महत्त्वका ठुला योजनामा बजेट अपर्याप्त भएको महानगरपालिकाले जनाएको छ ।
प्रोजेक्ट बैङ्कमा समावेश गरिएका योजना स्रोत व्यवस्थापन भएपछि क्रमशः कार्यान्वयन गर्दै जाने महानगरपालिकाको योजना छ । यस्ता योजनाको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार पार्ने र स्रोत उपलब्ध भएपछि कार्यान्वयन लैजाने निर्णय महानगरको परिषद्ले गरेको थियो ।
वीरगन्ज महानगरपालिकाले व्यवस्थित शहरी विकासको अवधारणासहितको सिर्सिया कोरिडोर निर्माणलाई महत्त्वाकाङ्क्षी योजनाको रुपमा अगाडी बढाएको छ । यसको डिपिआर निर्माणमा मात्रै ९ करोड रुपैयाँ खर्च हुने भएपछि सङ्घीय सरकारलाई आग्रह गरिएको महानगरपालिका श्रोतले जनाएको छ ।
महानगरपालिकाले प्रोजेक्ट बैङ्कमा राखिएका योजनामा सभागृह, पोखरी परिसर निर्माण, शहर सौन्दर्यीकरण, व्यवस्थित ट्रान्सपोर्ट नगर, पार्क, पुल निर्माण, चक्रपथ, सब्जी मण्डीलगायत छन् ।
पर्यटकीय स्थलदेखि महानगरको कार्यालय भवन निर्माणसम्मका योजना पनि प्रोजेक्ट बैङ्कमा राखिएको छ । महानगरले यस्ता योजनाका लागि सङ्घीय सरकार र दातालाई आग्रह गरिरहेको महानगरको योजना महाशाखा प्रमुख सुमन श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्