सप्तरीमा हुलाकी पुल निर्माणमा भारतीय पक्षको अवरोध

सप्तरी । सप्तरीको खडक खोलाको पुल निर्माणमा भारतीय पक्षले अवरोध पुर्याएको छ ।
हुलाकी सडक आयोजना अन्तर्गत डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैयामा निर्माण थालिएको खड्क खोलाको पुलमा भारतीय सीमा सुरक्षा बदल (एसएसबी) ले अवरोध पुर्याएको हो ।
हुलाकी आयोजनाले ८ माघ २०७६ मा इलाइट कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग पुल निर्माणका लागि सम्झौता गरेको थियो । सम्झौता भएपछि कन्स्ट्रक्सनले प्राविधिक कर्मचारी, कामदार र उपकरण ल्याएर काम सुरु गर्न खोज्दा एसएसबीले अवरोध पुर्याएका हुन ।
हुलाकी आयोजनाका साइट इन्जिनियर आशुतोष कर्णका अनुसार ११२ मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पुल बनाउने तयारी छ ।
पुल निर्माणका लागि रु १८ करोड ३३ लाख (भ्याटसहित) मा ठेक्का सम्झौता भएको छ । पुल बनाउने भनेर पारी भारतीय गाउँ करियौर र नेपालतर्फका कटैयाका बासिन्दाका बीचमा छलफल हुँदा पुल बनाउने सहमति दिइएको बताउनुहुँदै त्यही अनुसार नेपाल सरकारले ठेक्का सम्झौता गरेको साइट इन्जिनियर कर्णले बताउनुभयो ।
तर, सीमा नजिकै पुल बनिरहेकाले भारतीय पक्षले दुवै देशको सहमतिमा बन्नुपर्ने अडान लिएको उहाँले बताउनुभयो । कर्णले भन्नुभयो, ‘यसबारेमा भौतिक पूर्वाधार मन्त्रालयमा जानकारी गराउन लागेका छौं ।’

नेपाली भूमिमा नेपाली पक्षले बनाउन लागेको पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पुर्याउँदा काम ठप्प भएको छ ।
‘म आफैँ पनि गएर एसएसबी र त्यहाँका डिएमसँग यसबारे कुरा गरेको छु,’ प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भन्नुहुन्छ, ‘हामीतिरकै भूमि रहेको नक्सा समेत देखाएको छु । तर, भारतीय पक्ष माथिल्लो तहबाट टोली बोलाउने भनिरहेका छन् ।’
पारी भारतीय गाउँ करियौर गाउँका बासिन्दाले पनि पुल निर्माण हुन लागेको जग्गा नेपालकै भएको बताइरहँदा पनि उताका डिएमले यो विषयमा निर्णय लिन नसकेको आचार्यले बताउनुभयो । ‘मेरो क्षेत्राधिकार डिएमसम्म कुरा गर्ने हो,’ प्रजिअ आचार्यले भन्नुभयो, ‘बाँकी गतिविधिबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको छु ।’

प्रजिअ आचार्यले यो समस्याको समाधान परराष्ट्र मन्त्रालयमार्फत हुने र दुई देशबीच छलफल भएर पुल निर्माणको काम चाँडै अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्