तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा भैंसी पाल्नेभन्दा बेच्ने धेरै

जाजरकोट । केही वर्ष अघि जाजरकोटमा प्रायः सबै घरमा भैंसी पालिएका हुन्थे । कुनै घरमा त ३ देखि ६ वटासम्म दुहुना भैंसी हुन्थे ।

जाजरकोटको नलगाड नगरपालिका ४ को लहँगाउँ केही वर्ष पहिलेसम्म भैंसीको दूध, दही, मोही र घिउका लागि प्रख्यात मानिन्थ्योे । यहाँ अहिले २ सय ५० बढी परिवारको बसोबास छ । तर, अहिले अवस्था फेरिएको छ ।

चरन क्षेत्रको अभाव, पशुपालनप्रति घट्दो आकर्षण र अधिकांश गाउँका पुरूष अन्य काम खोज्दै भारत जाने गरेकाले ब्याउने र दुहुना भैंसीसमेत मासुका लागि बिक्री गर्ने क्रम बढेको किसान लालबहादुर वलीले बताउनुभयो ।

जिल्लाका अधिकांश परिवारले भैंसी पाल्न छोडिसकेका छन् । पहिले दूध, दही, मोही र घिउ बिक्री गर्ने परिवार अहिले आफैं किनेर खान्छन् वलीले भन्नु भयो ।

मासुका लागि भैंसीको व्यापार गर्नेको आँखा परेपछि यहाँ भैंसीको किनबेच बढ्यो । पाल्न झन्झट हुने र स्थानीय स्तरमा चलेको भन्दा धेरै मूल्य पाइन थालेपछि स्थानीयले भैंसी बेचेको अर्का भैसी पालक कृषक मालबहादुर खत्रीले बताउनुभयो ।

जिल्लामा भैंसीको संख्या कम भएको छ । मासुको प्रयोजनका लागि दुधालु भैंसीको किनबेच बढेसँगै स्थानीय जातका भैंसी लोप हुने अवस्थामा पुगेको कुशे गाउँपापलिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।

घरमा पाल्ने मान्छे पनि नभएकाले ब्याउने भैंसी साउनमा ५० हजार रुपैयाँमा बेचेको नलगाड ४ का रामबहादुर रावलले बताउनुभयो ।

पशु स्वास्थ्य ऐन, २०५५ र नियमावली २०५६ मा भैंसी बाँझो भएको भनेर पशु स्वास्थ्य चिकित्सकले जाँच गरी प्रमाणित गरिसकेपछि मात्र मासुका लागि प्रयोग गर्न पाउने व्यवस्था छ । तर यहाँ उक्त नियमको बेवास्ता गर्दै मासुकै लागि सबै खालका भैंसी जिल्ला बाहिर निकासी गर्नेक्रम निरन्तर चलिरहेको छ ।

गत वर्ष जाजरकोट जिल्लाबाट ७ सय बढी भैंसी जिल्ला बाहिर तस्करी भएको बताइएको छ । आजभोलि गाउमा भैंसी नै पाउन छाडेका छन । आर्थिक प्रलोभनमा भैंसी बाहिर पठाउने क्रम बढदै गएको छ । कति स्थानीय तहले भैंसी बाहिर लैजान रोक लगाए पनि यो प्रभावकरी देखिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button