तपाईँ सुन्दै हुनुहुन्छः

९ महिनादेखि ओडारमा बसेकी वृद्ध महिलासहित ४ जनाको उद्धार 

उद्धार गरी सुर्खेत पठाउन लागिएका वृद्ध । तस्बिर : सागर परियार ।
जुम्ला । ९ महिनादेखि जुम्लाको ओडारमा बस्दै आएकी बेवारिसे वृद्ध महिलासँगै ४ जनालाई उद्धार गरिएको छ । सडक मानवमुक्त कर्णाली प्रदेश घोषणाको कार्यान्वयन स्वरूप भइरहेको अभियान अन्तर्गत बुधवार प्रशासनको समन्वय र चन्दननाथ नगरपालिकाको सहयोगमा वृद्ध महिलासहित ४ जनालाई उद्धार गरिएको हो ।
विगत ९ महिनादेखि चन्दननाथ नगरपालिका–३ को गच्चु साँघु ओडारमा बस्दै आएकी दैलेख स्थायी घर बताउने वृद्ध महिला कमला कुमाई, चन्दननाथ नगरपालिका–९ निवासी पुनि तिरुवा, तातोपानी गाउँपालिका–५ निवासी बाहुनी लाटी र सिंजा गाउँपालिका निवासी घर बताउने प्रेमकली नेपालीलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो ।
उहाँले भन्नुभयो, “पुस १६ गते सडक मानवको तथ्याङ्क सङ्कलन गरी सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा उद्धार गर्ने तथा आश्रयका लागि सुर्खेत पठाउने निर्णय भए अनुसार पहिलो चरणमा ४ जनाको उद्धार गरिएको हो ।”
उद्धार गरी पठाएका ४ जना महिलाहरू मध्य एक जना स्पष्ट बोल्न नसक्ने र शारीरिक अपाङ्ग भए पनि अन्य तीन जना भने मानसिक समस्या भएका छन् । शारीरिक तथा मानसिक रुपमा अपाङ्ग भएका बेवारिसे सडक मानवलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा सुर्खेतस्थित मानव सेवा आश्रममा पठाइएको प्रजिअ थापाले जानकारी दिनुभयो ।
उद्धार गरी सुर्खेत पठाउन लागिएका वृद्ध । तस्बिर : सागर परियार ।
यद्यपि वृद्ध बेवारिसे महिलाले ओडारबाट अन्त कतै नजाने बताउँदै आएकी थिइन । गाउँमा नजाने, वनमै बस्ने वनपाले हुने बताए पनि बढ्दै गएको चिसोले वृद्ध महिलाको उद्धारको विकल्प थिएन् । प्रशासनले वृद्ध महिलालाई मात्र नभई अन्य तीनलाई पनि पठाउने गरी समन्वय गर्दा चार जनाको उद्धार भएको डिएसपी माधव प्रसाद काफ्लेले बताउनुभयो ।
चार जनालाई सँगै लिएर चन्दननाथ नगरपालिकाका विपद् व्यवस्थापन संयोजक लक्ष्मीचन्द्र न्यौपाने सुर्खेत जानु भएको छ । मानसिक रुपमा समस्या भएका, कहिले गाडी नचढेको हुनाले चुनौतीका बाबजुद पनि सुर्खेत पुर्‍याउन गएको उहाँले बताउनु भयो ।
राज्यको दायित्व र जिम्मेवारी अनुसार सडक मानवको उद्धारमा प्रहरी प्रशासन, नगरपालिका खटिएको चन्दननाथका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले बताउनुभयो । चार जना सडक मानवलाई सुर्खेत सम्म पुर्‍याउने सबै खर्च नगरपालिकाले व्यवहारेको चौलागाइले बताउनुभयो ।
उद्धार गरी सुर्खेत पठाउन लागिएका वृद्ध । तस्बिर : सागर परियार
सुर्खेतमा बसोबासका लागि प्रशासनले समन्वय गरेको छ ।  अन्य सडक मानव भन्दा ९ महिनादेखि ओडारमा बस्दै आएकी वृद्ध महिलालाई उद्धार गरेर प्रहरी प्रशासन, नगरपालिकाले निकै प्रशंसनीय काम गरेको स्थानीय जानकी रावलले बताउनुभयो । उहाँले भन्नुभयो,“घरमा बस्न नमान्ने, सधैँ वनमा डुल्ने, कठ्याङ्ग्रिँदो चिसोमा ओडारमै बस्ने, चिसो बढेकाले केही हुने हो की भनेर चिन्तित थियौ । तर ९ महिनापछि उद्धार हुँदा ढुक्क भयौ ।”
पहिला ओडार छोडेर अन्त कतै नजाने बताई रहेकी वृद्ध कमला कुमाईले आफूलाई सुरक्षित स्थान पठाउन लागिएको भन्दै निकै खुसी भएको बताउनु भएको छ । वृद्ध महिलासँगै अन्य तीन जना सडक मानव पनि आफ्नो उद्धार भई सुरक्षित ठाउँमा जान लागेको भन्दै खुसी भएका छन् ।  कर्णाली प्रदेश सडक मानवमुक्त घोषणा भइसकेकोले गर्दा सडकमा बेवारिसे देखिने सबैलाई उद्धार र राहतमा प्रहरी प्रशासन नियमित जुटिरहेको छ ।
सम्बन्धित समाचार :

प्रतिक्रिया राख्नुहोस्

Back to top button