तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध

सिन्धुपाल्चोक । काठमाडौँ महानगरपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।

काठमाडौँमा मङ्गलवार आयोजित एक कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्य र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले समझदारीमा पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध सुरुवात गर्नु भएको हो ।

समझदारीसँगै काठमाडौँ महानगरपालिकाले मेलम्ची नगरपालिकामा मेलम्ची सिटी पार्क निर्माणका लागि सहयोग गर्ने भएको छ । यसका लागि दुई नगरबीच सम्झौता समेत भएको छ ।

पार्क मेलम्ची नगरपालिकाको वडा नम्बर १० मा निर्माण हुनेछ । इन्द्रावती नदीको किनारमा बन्ने उक्त पार्कमा पानीको फोहोरा, हेलिप्याड, बालबालिकाका लागि खेलकुद पार्कलगायत हुनेछ । पार्कको डिजाइन भने मेलम्ची नगरपालिका आफैँले गर्नुपर्नेछ । त्यसका लागि प्राविधिक सहयोग मागे काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउनेछ ।

आर्थिक वर्ष २०७७र०७८ मा निर्माण सुरु गरेर २०७८र०७९ मा पूरा गर्नु पर्नेछ । पार्क निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ काठमाडौँ महानगरले सहयोग गर्नेछ भने बाँकी मेलम्ची नगरपालिकाले आफैँले बेहोर्नेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले मेलम्ची नगरपालिका गाउँ नै गाउँले भरिएकाले बिस्तारै सहरी विकास गर्न लागिएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका मेयर शाक्यले मुलुकभित्रकै स्थानीय तहहरुबीच भगिनी सम्बन्ध स्थापना गर्ने कार्य महानगरपालिकाले गरिरहेको भन्दै त्यसले पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button