तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका छ सय किशोरीलाई सेल्फ डिफेन्स तालिम 

सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले छ सय किशोरीलाई सेल्फ डिफेन्स (आत्म सुरक्षा) तालिम दिएको छ ।
गाउँपालिकाको आर्थिक सहयोग र युथ्स अफ तुलसीपुरको व्यवस्थापनमा बलात्कार, महिला हिंसा जस्ता घटनाहरू न्यूनीकरण गर्न र यसबाट बच्न सकिने उपायहरूको बारेमा किशोरीहरूलाई जनचेतनामूलक आत्म सुरक्षा तालिम प्रदान गरिएको छ ।
सल्यानमै पहिलो पटक सञ्चालन गरिएको यो कार्यक्रममा किशोरीहरूको आत्म सुरक्षा सम्बन्धी प्रारम्भिक टेकनिकहरु सिकाइएको छ । एक विद्यालयमा एक हप्ता किशोरीहरूलाई तालिम दिएको हो  ।
आत्म सुरक्षा तालिमले आत्मबल बढाउन निकै महत्त्वपूर्ण काम गरेको शारदा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा भगवती राणाले बताइन । उनले भनिन ‘हामीले आफ्नो सुरक्षा कसरी गर्ने र अप्ठ्यारोमा सुरक्षित हुने विभिन्न तरिकाहरू सिक्न पायौँ ।’
छात्रा तथा महिलाहरूमा आत्मविश्वास बढाउन र यौन दुर्व्यवहार विरुद्ध बोल्ने हिम्मत  जुटाउन तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताउनुभयो । छात्राहरूमार्फत गाउँघरमा समेत यस्तो सिकाइ तथा ज्ञानको प्रवाह होस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष केसीको भनाई छ ।
सार्वजनिक यातायातमा यात्रा गर्दा वा अन्य स्थानहरूमा हिँडडुल गर्दा महिलाहरूमा माथि हुने यौन दुर्व्यवहारबाट आत्मरक्षा गर्ने सम्बन्धमा टेकनिकहरु सिकाएको युथ्स अफ तुलसीपुरका सल्लाहकार अरुण लहरेले बताउनुभयो ।
पछिल्लो समयमा बलात्कार तथा हिंसाका घटनाहरू बढ्दै जाँदा किशोरीहरू असुरक्षित बन्दै गएका कारण किशोरीहरूलाई आत्म सुरक्षा तालिम प्रदान गरेको युथ्स अफ तुलसीपुरका अध्यक्ष वसन्त गिरीले बताउनुभयो  । उहाँले भन्नुभयो, ‘साथीभाइ, परिवार, नातेदार लगायतका व्यक्तिहरूबाट बलात्कार तथा हिंसाका घटनाहरू बढिरहेको भन्दै आफूहरूले अभियानै चलाई कार्यक्रम सञ्चालन गरी कसरी आफ्नो सुरक्षा गर्ने र बच्नका लागि   अपनाइने प्रयासहरूका बारेमा जानकारी दिने गरेका छौँ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button