तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अन्तिम सुनुवाई सुरु

फाइल तस्बिर

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संबैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको हो ।

यसअघि पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलासले संसद विघटनविरुद्ध परेका रिटमा आजदेखि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो । आज तोकिएको संबैधानिक इजलासमा पनि प्रधानन्यायाधीश जबरा नेतृत्वमा यस अघि नै तोकिनु भएका  न्यायधिशहरु रहनुभएको छ ।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो । दुई तिहाइ बहुमत नजिक रहेको प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्न नसक्ने जिकीर गर्दै सर्वोच्चमा एक दर्जन बढी रिट परेका छन् । ती सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आदेश दिनुभएको थियो ।

अन्तिम सुनुवाई सुरु गर्नुअघि संबेधानिक इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग लिखित जवाफ मगाएको थियो ।प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको वहसका लागि सर्वोच्चलाई सघाउन एमिकस क्युरी समेत गठन गरिएको छ । सर्वोच्चलाई राय दिने एमिकस क्युरीमा  वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, गीता संग्रौला, बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली रहनुभएको छ ।

संसद विघटनसँगै नेपालको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेपछि विघटनविरुद्धको रिटमा सर्वोच्चले दिने आदेशलाई पनि चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button