तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाहमुखी कृषिप्रणालीबाट व्यावसायिकतातर्फ लम्किँदै चार युवा 

चितवन । नेपाल कृषिप्रधान देशभएपनि अझैपनि हामी निर्वाहमुखी र परम्परावादी कृषि प्रणालीबाट त्यति माथि उठ्न सकेका छैनौँ । तर पछिल्लो समय कृषि प्रविधि र यान्त्रीकरणको प्रयोगसँगै यस क्षेत्रमा आकर्षण भने बढ्दै गएको पाइन्छ ।

कतिपय युवाहरू, विदेशबाट फर्केकाहरूले पनि विकल्पको रुपमा कृषि कर्मलाई अगांँल्न थालेका छन् । सुरुवाती क्षणमा निर्वाहमुखी कृषि प्रणालीबाट आफ्नो पेसा व्यवसाय गरेपनि बिस्तारै उनीहरूले व्यावसायिक रुपमा विस्तार गर्दै लगेका हुन् ।

लमजुङ जिल्लामा  आफ्नो घर भएपनि चितवनलाई कर्मथलो बनाएर लमजुङका युवाले चितवनमा व्यावसायिक पोल्ट्री फार्म सुरु गरेका छन् । लमजुङ दुधपोखरी गाउँपालिका वडा नम्बर १  का विकास घले, दुधपोखरी वडा नम्बर २ का मेन बहादुर घले, दुधपोखरी वडा नम्बर ४ का मिन बहादुर घले र भरतपुर महानगरपालिका वडा नम्बर २० का सन्तोष घलेको संयुक्त लगानीमा पोल्ट्री फार्म सुरु गरेका हुन । मङ्सिरबाट १६ लाख लगानीमा उनीहरूले दुधपोखरी कृषि फार्म सञ्चालनमा ल्याएका हुन ।

भरतपुर महानगरपालिका वडा नम्बर २५ मा १० कठ्ठा जग्गा भाडामा लिएर उनीहरूले संरचना निर्माण गरी टर्कीसहित लोकल कुखुरा पालन सुरु गरेका छन् । चार  युवाले  सुरु गरेको फर्ममा अहिले १५ सय लोकल कुखुरा र १ सय ५० टर्की हुर्किरहेका छन् । ‘पहिलेपनि मैले लमजुङमा दुईचारसय कुखुरा पालेको थिएँ’ फार्मका एक कृषक विकास घलेले भन्नुभयो । ‘यसलाई अझ विस्तार गर्ने उद्देश्यले चितवन रोजेका हौँ’उहाँले भन्नुभयो ।

चितवन देशकै केन्द्रबिन्दु र यातायात र बजारको सहज पहुँच पुग्ने हुनाले फार्म यहाँ स्थापना गरिएको उहाँले  बताउनु भयो  । ४ युवाहरू मध्ये  मेन बहादुर घले वैदेशिक रोजगारीका लागि कुवेतबाट फर्केका युवा हुन् भने बाँकी तीनजनाले यसअघि निर्वाहमुखी कुखुरापालन गर्दै आएका थिए  । आगामी चैतबाट टर्की र लोकल कुखुरा र  अण्डा बिक्री गर्ने तयारी गरिरहेको उहाँले  बताउनु भयो  । उहाँका अनुसार विकास घलेले  लमजुङमा निर्वाहमुखी कुखुरा पालन र निर्माणसामाग्री ढुवानी गर्दै आउनु भएको थियो । चितवनमा पछिल्लो समय लेयर्स कुखुरा पाल्ने कृषकको साथै लोकल कुखुरामा पनि कृषकको आकर्षण बढ्दै गएको छ । ‘लोकल कुखुरा र टर्कीको साना होटलदेखि ठूला होटल र रिसोर्टसम्म अत्याधिक माग छ । त्यसैले यसलाई प्राथमिकता दिएका हौं ।’ घलेले भन्नुभयो ।

उनीहरुले छिट्टै कालिजपालनसमेत सञ्चालन गर्ने योजना र तयारी गरेका छन् । यो पोल्ट्रीफार्मलाई विस्तार गरी १० हजार लेयर्स र ५ हजार टर्की पाल्ने योजना छ ।’ घलेले थप्नुभयो, अब छिट्टै कालिजपालन पनि शुरु गर्छौ ।’

नेपालमा अन्य क्षेत्रभन्दा कृषि क्षेत्रमा भविष्य र संभावना देखेर यो क्षेत्रलाई व्यवसायिकरण गर्न लागेको बताउंँनुहुन्छ फार्मका अर्का सञ्चालक सन्तोष घले । ‘मेरो पुख्र्यौली घर लमजुङ्ग हो तर अहिले म चितवन भएपनि  यो फार्ममा लमजुङ्गकै मेरो दाजुभाइ र मामा हुनुहुन्छ ।’उहाँले भन्नुभयो ।  परिवारमा कृषिकर्म गर्दा आर्थिक र भावनात्मक रुपमा साथ  र सहयोग  हुने भएकोले संयुक्त रुपमा फार्म सञ्चालनमा ल्याईएको उहांँले बताउनु भयो ।  ‘स्वरोजगार पनि हुने, कामगर्दापनि सजिलो  । नाफा र घाटा पनि बराबर ।’ उहांँले भन्नुभयो ।’

अब फार्मलाई विस्तार गर्दै ह्यचारी मेशीनसमेत ल्याउने उनीहरुले तयारी गरेका छन् । आफ्नो समुदायमा अधिकांश ब्रिटीस,सिंगापुर र भारतीय सेनामा जागिर खाने संस्कृतिलाई चिर्दै व्यवसायिक पोल्ट्री फार्म शुरु गरेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button