तपाईँ सुन्दै हुनुहुन्छः

महासङ्घको प्रतिनिधिमण्डल र अर्थमन्त्रीबिच भेटवार्ता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासङ्घका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरी सरकारका तर्फबाट तत्काल संवोधन हुनुपर्ने केही महत्त्वपूर्ण विषयमा ध्यानाकर्षण गराएको छ ।

उद्यमी व्यवसायीहरूले बुझाउनु पर्ने कर विवरणको म्याद र बैङ्कको साँवा व्याज भुक्तानी गर्ने समय बढाउन सो अवसरमा महासङ्घका तर्फबाट अर्थमन्त्री समक्ष आग्रह गरेको छ ।

भेटवार्तामा महासङ्घका तर्फबाट उद्यमी व्यवसायीले आर्थिक बर्ष सकिएको ६ महिनाभित्र आफ्नो अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण गरिएको प्रतिवेदन सहितको विवरण सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहे पनि गत वर्षको अन्तिम साढे ३ महिना लकडाउन र चालु आर्थिक वर्षमा पनि झण्डै एक महिना निषेधाज्ञा भएकाले कम्पनी फर्महरूले लेखा परीक्षण समयमै गर्न नसकेको यथार्थता अर्थमन्त्री समक्ष राख्दै विवरण बुझाउने म्याद तीन महिना थप गरिदिन आग्रह गरेको छ ।

त्यसै गरी भेटवार्तामा महासङ्घका तर्फबाट बैङ्कहरूले उद्यमी व्यवसायीमाथि गरेको कडाइले निजी क्षेत्र समस्यामा परेको भन्दै लकडाउनबाट विशेष गरि साना मझौला उद्योग बढी प्रभावित भएका र कुनै पनि साना मझौला उद्यम पुर्णरुपमा सञ्चालनमा आइ नसकेका र स्वदेश तथा विदेशमा समेत माग नबढेकाले ऋण तिर्न तोकिएको समय अपर्याप्त भएकाले यही पौष मसान्तसम्मका लागि तोकिएको ऋण तिर्ने म्यादलाई कम्तीमा तीन महिना पर सारिदिन पनि आग्रह गरेको छ ।

साना मझौला उद्यमीलाई पनि छुट्टै रिकभरी जस्तो कर छुट, विभिन्न अन्य शुल्क मिनाहा, बजार प्रवर्द्धन लगायतको प्याकेज आवश्यकता पर्ने भएकाले बजेटको मध्यावधि समीक्षामा साना तथा मझौला उद्यमीहरूका लागि विशेष राहत प्याकेज राखिदिन पनि आग्रह गरिएको छ ।

सो अवसरमा माननीय अर्थमन्त्री पौडेलले महासङ्घका तर्फबाट राखिएका सुझावहरूलाई आफूले गम्भीरतापूर्वक लिएको र प्राप्त सुझावहरूको कार्यान्वयनमा सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

सो अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, उद्योग समितिका सभापति भरत आचार्य, कर तथा राजस्व समितिका सभापति संदीप अग्रवाल, अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरू, महासङ्घका उपमहानिर्देशक गोकर्ण अवस्थी र उपनिर्देशक विदुरचन्द्र लामिछानेको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button