तपाईँ सुन्दै हुनुहुन्छः

आयल निगम प्रादेशिक कार्यालयमा मट्टीतेल भण्डार गृह निर्माण

रुपन्देही । रुपन्देहीको भलवारीमा रहेको नेपाल आयल निगम लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयमा रि–इन्जिनियरिङ गरी पहिलो चरणमा पेट्रोलियम पदार्थ लोडिङ–अनलोडिङ सेड, पार्किङ यार्ड, विद्युतीय प्यानल भवन र १४० किलोलिटर मट्टीतेल भण्डार गृह निर्माण गरिएको छ ।

पेट्रोलियम पदार्थ लोड–नलोड गर्दा समस्या भएपछि निगमले क्षमता बढाएको हो । यस्तै पार्किङ क्षमता पनि बढाइएको छ भने विद्युतीकरणलाई थप व्यवस्थित गरिएको निगमका प्रादेशिक कार्यालय भलवारीका प्रमुख प्रल्यांकर आचार्यले जानकारी दिनुभयो ।

केही दिनअघि नवनिर्मित संरचनाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगम सञ्चालक समिति अध्यक्ष डा. बैकुण्ठ अर्यालले पेट्रोलियम पदार्थको लोड–अनलोड गर्न संरचना निर्माणपछि सहज भएको बताउनुभयो । उहाँले निमगसँगै पेट्रोलियम व्यवसायी पनि आधुनिक टेक्नोलोजी अनुसार चल्नुपर्ने बताउनुभयो ।

निगमका अनुसार भलवारी डिपोमा १ करोड ५० लाख रुपैयां लागतमा लोड–अनलोड गर्नसक्ने अन्तर्राष्ट्रिय मापदण्डको ४ वाय लोडिङ–अनलोडिङ सेड निर्माण गरिएको छ ।

निगमले २६ लाखमा विद्युतीय प्यानल भवनसमेत बनाएको छ । विद्युतलाई नियमित गर्न र यहाँबाट विद्युत कन्ट्रोल हुने जनाइएको छ ।

त्यस्तै, १ करोड रुपैयाँ लागतमा ७०–७० किलोलिटर क्षमताका दुईवटा मट्टीतेल भण्डारण ट्यांकी निर्माण गरिएको छ । क्षमता बृद्धि गरी तीन दिनलाई पुग्ने मट्टीतेल भण्डार हुने गरी ट्यांकी बनाइएको हो ।

निगमले ४५ लाखमा क्याप्सीटेन्स अर्थिङ निर्माण गरेको छ भने ८० लाखमा दमकल र फायर इन्जिन पनि खरिद गरेको प्रादेशिक कार्यालय भलवारीका प्रमुख आचार्यले जानकारी दिनुभयो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले व्यवस्थित र आधुनिक प्रविधिअनुसार निगमलाई अघि बढाउन लागिएको जानकारी दिनुभयो ।

निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टले नेपालगञ्ज र पोखराका मट्टीतेल ट्यांकीमा पेट्रोल भण्डारण गर्ने गरी योजना बनाइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button