१५ लाख बढीको अवैध सामानसहित २ जना पक्राउ
कैलाली । कैलालीको टीकापुरबाट प्रहरीले १५ लाख बढीको अवैध सामानसहित २ जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका वडा नम्बर–८ वनगाउँ क्षेत्रबाट भन्सार कार्यालय खक्रौलाको अगुवाईमा गएको संयुक्त गस्ती टोलीले आज बिहान १० बजेतिर भन्सार छली ल्याइएको सामानसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नम्बर २ का २३ वर्षीय रन्जु चौधरी र वडा नम्बर १ का २२ वर्षीय सागर चौधरी रहेको भन्सार कार्यालय खक्रौलाले जनाएको छ । उनीहरुका साथबाट १५ लाख २५ हजार ७० रुपैयाँ बराबरको लत्ताकपडा, सटिङ्ग सुटिङ्गका सामान, कस्मेटिक सामान र से १ च २१४८ नम्बरको बलेरो पिकअप गाडी बरामद गरिएको हो ।
पक्राउ परेका दुवै जना र बरामद सामान आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौलामा राखेर अनुसन्धान भइरहेको भन्सार कार्यालय खक्रौलाका प्रमुख विमल शाहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्