चाउचाउ र पानी उद्योगविरुद्ध मुद्दा दायर
रुपन्देही । कपिलवस्तुको एउटा चाउचाउ उद्योग र अर्को पानी उद्योगविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
प्रशोधित पिउने पानीमा कोलिफर्मको मात्रा भेट्टिएपछि र चाउचाउ न्यून गुणस्तरको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले अदालतमा मुद्दा दर्ता गरेको हो ।
कपिलवस्तुको शिवराज नगरपालिका–५ मा रहेको युनिभर्सल ड्रिकिङ वाटर इण्डष्ट्रिजविरुद्ध आइतबार र कपिलवस्तु–१३ मा रहेको क्यापिटल फुड प्रालिविरुद्ध मङ्सिर २८ गते मुद्दा दर्ता भएको हो ।
क्यापिटल फुडद्वारा उत्पादित ओके ब्रान्डको चाउचाउको काभ्रेबाट नमुना सङ्कलन गरी जाँच गर्दा पानीको मात्रा ६.५ पाइएको थियो । चाउचाउमा ५ प्रतिशतभन्दा माथि पानीको मात्रा हुन हुँदैन । उक्त ब्रान्डको चाउचाउमा पेरोक्साइड भ्यालु १० हुनु पर्नेमा १५.२ र क्यापिटलकै अर्को उत्पादन जिनी ब्राण्डमासमेत एसिडमा नघुल्ने भस्म १ हुनुपर्नेमा १.१ पाइएपछि मुद्दा दर्ता गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले जानकारी दिनुभयो ।
युनिभर्सलको प्रशोधित पानीमा कुल कोलिफर्म गणनाप्रति एक सय एमएलमा शून्य हुनुपर्नेमा ११८ पाइएको थियो । युनिभर्सलले ग्यालेक्सी ब्रान्डको मिनरल वाटर उत्पादन गर्दै आएको थियो । खाद्यले पानी उद्योग र उद्योगका सञ्चालक विष्णुबहादुर हमाललाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । युनिभर्सलबाट प्रशोधित पानीमा मिसावट भएको गुनासो आएपछि खाद्य निरीक्षक श्रवणकुमार ढुङ्गाना नेतृत्वको टोलीले २०७६ भदौमा उद्योगबाट उत्पादित पानीको नमुना लिएर जाँच गरेको थियो ।
क्यापिटलको जिनी ब्रान्डको चाउचाउको मोरङबाट नमुना सङ्कलन गरी खाद्यले परीक्षण गरेको थियो । खाद्य ऐन २०२३ को दफा (३) उल्घंन गरी दूषित खाद्यपदार्थ र न्यून गुणस्तरको उत्पादन गरी विक्री वितरण गरेकाले दुवै उद्योगविरुद्ध खाद्य ऐन २०२३ को दफा ५ (१) बमोजिम कारबाहीको माग गरी अदालतमा मुद्दा दर्ता गरिएको छ । यदि उत्पादन गर्ने उद्योग दोषी ठहरिए रु. ५० हजार जरिवाना वा ५ वर्ष कैद वा दुवै सजाय हुनसक्ने छ ।








प्रतिक्रिया राख्नुहोस्