तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

file photo

हुम्ला । हुम्लामा आज दिउसोदेखि हिमपात भएको छ ।

आज बिहानदेखि मौसम बदलीसंगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको र जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् ।

हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढ्दा घरबाहिर निस्कन समस्या भएको हिल्सा सीमा सुरक्षामा खटिएका हिल्सा विपओपीका इन्चार्ज सुरज केसीले जानकारी दिनुभयो ।

हिमपातले बाँझो जमिन खनजोत गर्न सहज हुने र हिउँदे बालीनाली सप्रने भन्दै कृषकमा खुसीयाली छाएको नाम्खाका स्थानीयवासी हेमन्त बोहराले बताउनुभयो ।

यस्तै, पश्चिमी वायुका कारण आजदेखि केही दिन देशका धेरैजसो भू–भागमा बदली, वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वायुको प्रभाव पुस २२ गतेपछि कमजोर हुँदै जाने छ ।

बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रम केही गिरावट आई देशभर चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न तथा स्वास्थ्यमा थप सजक रहनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button