स्वदेशी उद्योगलाई पर्नसक्ने असर रोक्न नियमावली
काठमाडौं । सरकारले विदेशबाट अयात गरिएका वस्तु थुप्रिएर स्वदेशी उद्योगलाई पर्नसक्ने असरलाई रोक्न सेफगार्डस, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ नियमावली ल्याएको छ ।
स्वदेशी उद्योगलाई हानि नोक्सानी पुग्ने गरी सहुलियत र अनुदान प्राप्त मालवस्तु आयात रोक्ने गरी बनेको सेफगार्डस, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ नियमावली पुस १६ गते बसेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
सेफगार्ड्स, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ विधेयक संसद्बाट पारित भए पनि यससम्बन्धी नियमावली बन्न नसक्दा ऐन कार्यान्वयन हुन सकेको थिएन ।
यो व्यवस्थासँगै अब स्वदेशी उद्योगले उत्पादन गरेका सामानलाई असर नपर्ने गरी मात्रै बाहिरी मुलुकबाट मालसामान नेपालमा ल्याउन पाइने र स्वदेशी सामानलाई डम्पिङ नगर्ने गरी मात्रै विदेशबाट सामान आयात गर्न पाउने व्यवस्था नियमावलीले गरेको छ ।
नियमावली मार्फत कुनै पनि वस्तुको आयात आवश्यकता भन्दा बढी भएमा त्यस्ता वस्तुमा पूर्ण वा आंशिक रूपमा रोक लगाइ स्वदेशी उद्योग जोगाउन सेफगार्डस् लगाउन सकिने व्यवस्था गरिएको छ । यसका लागि त्यस्ता आयातित सामानमा भन्सार महशुलमा थप शुल्कदर लगाउन सक्ने व्यवस्था नियमावलीले गरेको छ ।
आयातित सामान डम्पिङ गरिएको भेटिएमा ऐनअनुसार भन्सार महशुलका साथ अतिरिक्त शुल्क पनि लगाउने व्यवस्था गरिएको छ । यद्यपि, आयातको ३ प्रतिशतसम्मको सामानमा एन्टिडम्पिङ शुल्क नलाग्ने व्यवस्था गरिएको छ । एन्टिडम्पिङ महसुल लगाउने अवधि बढीमा ५ वर्षको लागि थप गर्न सकिने छ ।
यसले अस्वाभाविक आयात, लागत मूल्यभन्दा कम मूल्यमा आयात र सहुलियत प्राप्त वस्तुको अत्यधिक आयात रोक्ने छ । स्वदेशी उद्योगले निवेदन दिएपछि उद्योग विभागले यसको अनुसन्धान गरी त्यस्ता सामान आयात गरी भण्डारण गर्ने व्यवसायीलाई कारबाही गर्न सक्नेछ ।
तर, द्विपक्षीय वा बहुपक्षीय सम्झौताअनुसार अनुदानस्वरूप आयात गरिएका सामानमा यो ऐन लाग्ने छैन भने सरकारले आवश्यकता अनुसार आयातमा लगाइएको अतिरिक्त शुल्क, भन्सार दर आवश्यकता अनुसार घटाउने वा खारेज गर्न सक्नेछ ।








प्रतिक्रिया राख्नुहोस्